काँग्रेस रामेछापले ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम गर्यो

१६ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापले आज एकै दिन जिल्लाको ६४ वटै वडामा एकै चरणमा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम गरेको छ । अभियान अन्तर्गत नेपाली काँग्रेसले वडा वडामा पुगेर जनताहरूको समस्या गुनासा सुनेका छन् । साथै सरसफाइ, जनतासँग भलाकुसारी, घरदैलो समेत गरेका छन् ।
यस अगाडि बसेको बैठकले खटाएका प्रतिनिधिहरूबाट वडा वडामा अनौपचारिक रूपमा सम्पन्न भएको कार्यक्रममा काँग्रेस नेताहरूले नागरिकका समस्या, वडा तहमा भइरहेका विकास निर्माण बारे स्थानीयहरू धारणा, गुनासा र जिज्ञासा र सकारात्मक पहलबारेमा चर्चा सुझाव लिएको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।
त्यसको लागि जिल्ला पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहित, उपसभापति लेखबहादुर कार्की, सचिवद्वय दीपक खड्का, विनोद कार्की लगायतका नेताहरू आ–आफ्नो वडामा पुगेका थिए ।
आज देखि सुरु भएको यो अभियान आउँदो माघ २६ गते सम्पन्न गर्ने पार्टी केन्द्रीय समितिले जनाएको छ ।