नेपाली काँग्रेस रामेछापको महासमिति निर्वाचनको मिति तोकियो, फागुन १ गते मतदान हुने

| माघ १९, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१९ माघ, रामेछाप । अनिश्चित कालको लागि स्थगित भएको नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यको निर्वाचन मिति तोकिएको छ । जिल्लाबाट महासमिति सदस्यको नामावली हाल सम्म नआएको र शनिवार सम्म नामावली नपठाए केन्द्रीय निर्वाचन समितिले आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकमा सहभागी हुन नपाउने पत्र पठाएपछि पार्टी जिल्ला निर्वाचन समितिले यस अगाडि रोकिएको निर्वाचनको मिति तोकेको हो । 

 

शुक्रवार निर्वाचन अधिकृत कुशप्रसाद दाहालले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आगामी फागुन १ गते बिहान ८ बजे देखि साँझ ५ बजे सम्म जिल्ला समन्वय समितिको प्राङ्गाणमा मतदानको समय तोकिएको छ । 

 

जसमा यस अगाडि नै दर्ता भइसकेको २१ जनाले उम्मेद्वारी फिर्ता लिन चाहेमा यही माघ २४ गते साँझ ५ बजेसम्म पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा गएर फिर्ता लिन सक्ने निर्वाचन समितिले जनाएको छ । 

 

त्यस्तै माघ २७ गते शनिवार साँझ ६ बजे पार्टी कार्यालयमा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने र २८ गते आइतबार बिहान ८ बजे सोही ठाउँमा वर्णानुक्रम अनुसार नमुना मतपत्र टाँस्ने निर्वाचन तालिकामा उल्लेख छ । 

 

मतदान सकिएपछि नेपाल शिक्षक संघको भवनमा मतगणना सुरु हुने जनाइएको छ । 

 

यसअघि गएको पुस ६ गते मतदानको मिति तोकिए पनि विशेष कारण भन्दै मतदान हुन सकेको थिएन । निर्वाचनको लागि करिब एक हजार ४ सय बढी क्षेत्रीय प्रतिनिधिहरूले भाग लिने नेपाली काँग्रेस रामेछापले जनाएको छ । 

 

निर्वाचन तालिका हेर्नुहोस्