मन्थली बचतको २७ औँ स्थापना दिवस: सदस्यहरूलाई ‘विद्युतीय चुलो’ प्रदान, ५ वर्षमा १७ हजारलाई दिने घोषणा

| माघ २०, २०८० शनिबार

A A A
A A A

२० माघ, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीबाट संचालित मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा सहकारीले आफ्ना उत्कृष्ट बचकर्ताहरुलाई ‘विद्युतीय चुलो’ प्रदान गरेको छ । 

 

शनिवार सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता र नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा मन्थली सामुदायिक हलमा एक भव्य कार्यक्रमको आयोजना गरी स्थापन दिवस मनाएको हो । 

 

२०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौँमा विधिवत् दर्ता भएर रामेछापमा कार्यक्षेत्र बनाई २०५० सालमा तामाकोशी सेवा समितिका ११ जना कर्मचारीहरूको रु १–१ हजार सञ्चालन गरी सुरु भएको यो सहकारी हाल जिल्लाका २ नगरपालिका तथा ६ वटै गाउँपालिका अन्तर्गतका ६४ वटै वडा कायम रहेको छ । 

१७ हजार भन्दा बढी शेयर सदस्य एवं बचतकर्ता रहेको यो सहकारी जिल्लाकै अब्बल सहकारी माध्ये एक बन्न सफल भएको सहकारीका सचिव हिमाल ढुङ्गेलले बताए । 

 

पछिल्लो समय प्रविधिलाई जोड्दै शेयर सदस्यहरूको मन जीतै आएको मन्थली बचतले तामाकोशी अस्पताल मन्थलीमा उपचार छुट्, सदस्यको मूत्यू राहत प्रदान, एटिएम सेवा, मोबाइल बैङ्किङ सुविधा लगायतका सुविधा प्रदान गर्दै आएको सचिव ढुङ्गेलले जानकारी दिए । 

 

आर्थिक वर्ष ०७९÷०८० मा एक अर्ब १४ करोड ८८ लाख १७ हजार ३४४ रुपैयाँको कूल सम्पत्ति रहेको मन्थली बचतमा सोही आर्थिक वर्षमा ५८ लाख ८ हजार ८२५ रुपैयाँ खुद नाफा कमाउन सफल भएको सहकारीका कोषाध्यक्ष टिका प्रसाद भट्टको प्रतिवेदनमा उल्लेख छ ।

उत्कृष्ट बचतकर्तालाई ‘विद्युतीय चुलो’

जिल्ला भित्रका सहकारी अभियान्ताहरु, बचतकर्ता, पत्रकार सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको स्थापना दिवसमा सहकारीले आफ्ना ५४ जना उत्कृष्ट बचतकर्ता, बाल सदस्य उत्कृष्ट बचतकर्ता, फरक क्षमता भएका उत्कृष्ट बचतकर्ता,सक्रिय बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यहरूलाई सम्भवतः जिल्लामै पहिलो पटक ‘विद्युतीय चुलो’ निःशुल्क प्रदान गरेको छ । 

 

वातावरणीय प्रर्दुशन र जलवायु परिवर्तनलाई रोक्न विशेष मद्दत पुर्‍याउने उद्देश्यले आफ्ना सदस्यहरूलाई यो चुलो प्रदान गरिएको उद्घोष गर्दै सहकारीका अध्यक्ष गोविन्द घिमिरेले आगामी पाँच वर्ष भित्र सबै शेयर सदस्यहरूलाई विद्युतीय चुलो प्रदान गर्ने जानकारी गराए । ‘५ वर्ष भित्र हाम्रा सबै सदस्यहरूलाई यो चुलो प्रदान गर्छौँ ।’ 

 

आफूले पनि विगत एक वर्षदेखि विद्युतीय चुलो प्रयोग गर्दै आएको सुनाउँदै अध्यक्ष घिमिरेले यो चुलोबाट धुवाँ मुक्त, थोरै खर्चमा प्रयोग गर्न सकिने सहित धेरै फाइदाहरू रहेको सुनाउँदै विश्वमा दिन प्रतिदिन बढी रहेको जलवायु पर्दुशनलाई रोक्न टेवा पुर्‍याउने योजना सहित चुलो वितरण गरिएको प्रस्ट पारे । 

 

विद्युतीय चुलो पाएपछि सदस्यहरू पनि खुसी देखिएका छन् । 

 

स्थापना दिवसको अवसरमा (नेफ्सकुन) का अध्यक्ष ढकाल सहित सहकारी अभियान्ताहरुले शुभकामना दिँदै आगामी दिनमा सहकारीले आफ्नो लगानीको क्षेत्रलाई थप विस्तार गर्नु पर्नेमा सुझाव दिएका थिए ।