रामेछापमा ‘डिभोर्स’ गर्नेको संख्या उल्लेख्य बढ्दै, साँढे ३ वर्षमा ५ सय बढी जोडी छुट्टिए

| माघ २१, २०८० आइतबार

A A A
A A A

१८ माघ, रामेछाप । रामेछापमा सम्बन्ध विच्छेद (डिभोर्स) का घटना वर्षेनी बढ्दै गएको पाइएको छ । गएको तीन वर्षको तथ्याङ्कलाई हेर्दा सम्बन्ध विच्छेदको घटना उल्लेख्य मात्रमा बढ्दै गएको पाइएको हो । 

 

आइतबार रामेछाप टाइम्सलाई जिल्ला अदालत रामेछापले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ३७ वटा सहित १०९ सम्बन्ध विच्छेदका मुद्दा फैसला भएको हो । 

 

अदालतका श्रेस्तेदार मधुसूदन आचार्यका अनुसार सोही वर्ष मात्रै एक सय १४ वटा नयाँ दर्ता भएका छन् । 

 

वैदेशिक रोजगारी, घरायसी समस्या, पुनर्विवाह जस्ता विविध कारणले गर्दा सम्बन्ध विच्छेदका गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको प्रस्ट पार्दै यो समस्या देश भरी नै बढ्दै गएको श्रेस्तेदार आचार्यले बताए । ‘यो देश भरीको समस्या हो, रामेछापमा पनि व्याप्तै छ ।’  

 

आर्थिक वर्ष २०७८/०७९ मा अघिल्लो वर्षको सरेर आएका ४२ वटा सहित एक सय ६९ वटा, २०७९/०८० मा ५४ वटा सरेर आएको सहित एक सय ६४ वटा सम्बन्ध विच्छेदका फैसला भएको जिल्ला अदालतको तथ्याङ्कले देखाउँछ ।

 

चालु आर्थिक वर्षको बितेको ६ महिना पुस मसान्त सम्म ७६ वटा सम्बन्ध विच्छेद भएको फैसला जिल्ला अदालतले गरि सकेको छ । यो अवधिमा मात्रै ७० वटा सम्बन्ध विच्छेदका नयाँ मुद्दा दर्ता भइसकेको छ । 

 

पुस मसान्त सम्म आइ पुग्दा ३९ वटा डिभोर्सको मुद्दा जिल्ला अदालत रामेछापमा फैसला हुन बाँकी अर्थात् विचाराधीन रहेको छ । 

 

यसरी बितेको साँढे तीन आर्थिक वर्षको सम्बन्ध विच्छेदको तथ्याङ्कलाई हेर्ने हो भने पाँच सय भन्दा बढीले सम्बन्ध विच्छेद गरेको वा वैवाहिक सम्बन्ध तोडेको देखिन्छ । ती वर्षमा चार सय ४२ जनाले सम्बन्ध विच्छेद गरेको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अदालतका अनुसार यो संख्या यो वर्ष अझ बढ्न सक्ने देखिन्छ । 

 

नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यवस्था मुलुकी देवानी सहिता २०७४ को परिच्छेद ३ बमोजिम व्यवस्था गरेको छ । मुलुकी देवानी सहिता २०७४ दफा ९३ बमोजिम बमोजिम पति पत्नी दुवैले चाहेमा जुनसुकै बेला सम्बन्ध विच्छेद गर्न सकिने कानुनी व्यवस्था रहेको छ । 

 

विवाहबाट जसरी पुरुष र महिलाबिचको सम्बन्ध श्रीमान् श्रीमतीको रूपमा जोडिन्छ, त्यसै गरी सम्बन्धविच्छेदबाट सोही श्रीमान्, श्रीमतीबिचको नाता सम्बन्ध तोडिन्छ । स्पष्ट रूपमा भन्ने हो भने पति र पत्नीबिच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानुनी मान्यता अनुरूप पति पत्नीबिचको नाता सम्बन्धको त्याग पत्र नै सम्बन्ध विच्छेद हो ।