गोकुलगंगा गाउँपालिकाले कृषि उपज संकलन र भण्डारण गर्न ‘कोल्ड स्टोर’ बनाउने

| माघ २१, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

२१ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले पालिका भित्र उत्पादित कृषि उपजलाई सुरक्षित तरिकाले भण्डारण एवं संकलन गर्नको लागि ‘कोल्ड रुम’ एवं ‘पोर्टेवल कोल्ड चेम्बर’ निर्माण गर्ने भएको छ । यो पालिका कृषि उपजको लागि महत्त्वपूर्ण र भौगोलिक वातावरण उपयुक्त भएको पालिका मानिँदै आएको छ । साथै यहाँ उत्पादित आलु, किवी, तरकारीहरू बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ । 

 

चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार संघीय शसर्त ५० लागत साझेदारीमा ‘कोल्ड रुम’ एवं कोल्ड स्टोर बनाउने गाउँपालिका सार्वजनिक आह्वान गरेको छ । संघीय बजेट १९ लाख ७५ हजार रहेको छ । 

 

एक हजार क्यारेट अर्थात् २० टन क्षमताको उक्त कोल्ड चेम्बर निर्माण गर्न पालिका भित्रकै एक डेढ सय मिटर वरपर पालिकाको जग्गामा यो भवन बनाउने योजना रहेको पालिकाका सूचना अधिकारी सञ्जय सुनुवारले रामेछाप टाइम्सलाई बताए । 

 

२ वर्ष भित्र सम्पन्न गर्ने गरी स्टिमेट गरिरहेको सुनाउँदै यो ‘कोल्ड स्टोर’मा पालिकामा उत्पादन हुने आलु, किवी, जडिबुट्टी लगायत, कृषि उपजहरू सुरक्षित तरिकाले भण्डार र संकलन गरिने सूचना अधिकारी सुनुवारले प्रस्ट पारे । ‘यहाँको आवश्यकता र सान्दर्भिकतालाई मध्यनजर गरेर बनाउन लागेका हौँ, तत्कालीन समयमा १/२ महिना स्टोर गरेर बेच्न सकियो भने मूल्य राम्रो पाउने हुँदा त्यो बनाउन लागेका हौँ ।’

 

पहिलो चरणमा गाउँपालिकामा बनाउने र त्यसको महत्वलाई हेरेर आगामी दिनमा वडा तहमा समेत ‘संकलन केन्द्र’ बनाउन सकिने सूचना अधिकारी सुनुवारले बताए । त्यसको लागि झण्डै ४० लाख लागत लाग्ने पालिकाले योजना बनाएको छ । 

 

हाल सम्म यो पालिकामा संघीय समपूरक मार्फत ६ वटा योजनामा तीन वटा योजना ठेक्का लागेर काम धमाधम भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार खिम्ती–फर्पु–रस्नालु सडक स्तर उन्नतीक लागि १ करोड ९७ लाखमा ५० प्रतिशतमा बिलोमा काम भइरहेको छ ।  

 

त्यस्तै ठोसे–सिङ्गटी सडक पनि संघीय समपूरक ९६ लाख र गाउँपालिकाको ९६ लाखको काम जारी छ । बेताली जन जागृति माको ७० लाख बजेटमा काम भइरहेको छ । बाँकी ठेक्का लाग्ने प्रक्रिया सुरु भएकाले योजनाका काम चाँडै नै सकिने प्रशासकीय अधिकृत यादवले बताए । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार