रामेछापको घरेलु तथा साना उद्योग कार्यालय बन्यो ‘उद्योग तथा वाणिज्य कार्यालय’

| माघ २३, २०८० मंगलबार

स्तर उन्नती भएको घरेलु तथा साना उद्योग कार्यालय, फाइल फोटो ।
A A A
A A A

२३ माघ, रामेछाप । रामेछापको मन्थली स्थित घरेलु तथा साना उद्योग कार्यालय मन्थली अब उद्योग तथा वाणिज्य कार्यालयमा परिणत/ स्तर उन्नती भएको छ । 

 

गएको पुस ३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले घरेलु तथा साना उद्योग कार्यालयलाई उद्योग तथा वाणिज्य कार्यालयमा स्तर उन्नती गर्ने निर्णय गरेको जिल्ला स्थित उद्योग तथा वाणिज्यको कार्यालय सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

 

 

गएको माघ ११ गतेको प्रदेश मन्त्रिस्तरीय निर्णय अनुसार कार्यान्वयनमा आएको जानकारी गराइएको छ । 

घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन तथा विकास कार्य प्रभावकारी रूपमा संचालन गरी संस्थागत रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गठन आदेश २०३१ बमोजिम घरेलु तथा ग्रामीण उद्योग विकास समितिको स्थापना भएको थियो । 

 

२०४९ सालमा घरेलु तथा साना उद्योग विकास समिति नामाङ्कन गरी तत्काल विद्यमान कार्य क्षेत्र ४८ जिल्लामा विस्तार भई रामेछाप जिल्लालाई पनि उद्योग प्रशासनका थप जिम्मेवारी पनि सुम्पिएको र आर्थिक वर्ष ०६२/०६३ बाट वाणिज्य प्रशासन तर्फको समेत कार्य गदै आइरहेको छ ।

 

मुलुक सङ्घीय संरचनामा गएपछि साविकमा उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास समिति मातहतमा सञ्चालित उक्त कार्यालय केही समय स्थानीय तहमा उद्योग विकास शाखाको रूपमा रहेकोमा हाल प्रदेश सरकारको उद्योग, पर्यटन, वाणिज्य आपूर्ति मन्त्रालय अन्तरगत रही उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका विविध किसिमका उद्यमशीलता विकास, सीप विकास, क्षमता अभिवृद्धि तथा उपभोक्ता हक हित संरक्षण सम्बन्धित कार्यहरू गदै आइरहेको छ ।