रामेछापमा एक लाख १० हजार बढीको राष्ट्रिय परिचय पत्र विवरण ‘इन्ट्री’, ११ हजार ७८ जनाको कार्ड बनेर आयो

| माघ २५, २०८० बिहिबार

A A A
A A A

२५ माघ, रामेछाप । जिल्लामा ‘राष्ट्रिय परिचय पत्र’ बनाउन थालेको तीन वर्षमा एक लाख १० हजार बढीले पत्र बनाउन विवरण टिपाएका छन् । दुई नगरपालिका र छ वटै गाउँपालिकाका सबै वडा-वडामा पुगेर समेत वितरण गरिएको राष्ट्रिय परिचय पत्र सरकारी काम काजलाई एक अर्कासँग जोड्ने र सहज बनाउने उद्देश्यका साथ बनाउन थालिएको हो । 

 

बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार हालसम्म १ लाख ११ हजार ९ सय १८ वटा राष्ट्रिय परिचय पत्र सिस्टममा ‘इन्ट्रि’ भएको हो । अर्थात् परिचय पत्र बनाउन आवश्यक प्रक्रियासहित विवरण दर्ता गरिएको वा भरिएको प्रशासनका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी प्रकाश प्रधानले रामेछाप टाइम्सलाई बताए । 

 

२०७७ साल साउन १ गते बाट औपचारिक रूपमा बनाउन सुरु भएको जिल्ला प्रशासन कार्यालयबाट ४० हजार ९ सय ७८ जनाले दर्ता गरेको सूचना अधिकारी प्रधानले प्रस्ट पारे । ‘सुरुमा अत्यधिक भिडभाड भएपछि वडा–वडामा गएर बाँडेपछि अहिले दैनिक ५०/६० जनाको हाराहारीमा परिचय पत्र बनाउने हुन्छन्’ राष्ट्रिय परिचय पत्र बनाउन आवश्यक पर्ने कारण सहित प्रधानले बताए । 

 

‘सबै सरकारी सेवालाई जोड्ने उद्देश्यले यो ल्याएको हो । जस्तो पासपोर्ट बनाउनको लागि यो पत्र अनिवार्य रूपमा अहिले लागू भएको छ । त्यस्तै मालपोत, नापीसँग र सबै सरकारी काममा यो, जोडिँदै जान्छ’  सूचना अधिकारी प्रधान ।

 

परिचय पत्र बनाउन नागरिकता लिएको हुनु पर्ने छ । जसअनुसार अहिले पहिले नागरिकता बनाउने र लगत्तै राष्ट्रिय परिचय पत्र बनाउने कार्य हुँदै आएको छ । त्यसको लागि उमाकुण्ड गाउँपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा एक जना कर्मचारी व्यवस्थापन गरेर निःशुल्क रूपमा दर्ता लगायतको काम हुँदै छ । 

घुम्ती शिविरमा राष्ट्रिय परिचय विवरण टिप्दै र टिपाउँदै, तस्बिर फाइल । 

 

२०७९ मंसिर १२ गतेदेखि चैत्र ३ गते सम्म घुम्ती शिविर मार्फत स्थानीय तहका वडा–वडामा गएर राष्ट्रिय परिचय पत्रको विवरण लिएपछि अहिले प्रशासनमा भीड घटेको छ । सेवाग्राहीलाई समेत गाउँ–टोलमै सेवा पाएपछि सहज भएको थियो ।

 

त्यसैले गर्दा प्रशासनमा सो बेला छुटेका र नयाँ नागरिकता लिनेहरूले मात्रै राष्ट्रिय परिचय पत्रको लागि अहिले प्रशासन पुग्नु परेको छ । चार महिना लामो शिविरमा ७० हजार ९ सय ४० जानले इन्ट्रि गरेका थिए । यसरी हाल सम्म एक लाख ११ हजार बढीको इन्ट्रि भए पनि जिल्ला प्रशासनमा ११ हजार ७८ जनाको कार्ड बनेर आएको र त्यस मध्ये ९ सय ११ जनाले मात्रै बुझेर लिएको सूचना अधिकारी प्रधानले जानकारी दिए । 

 

अहिले वैदेशिक रोजगारीको राहदानी (पासपोर्ट) बनाउनेहरू बढ्दा पनि राष्ट्रिय परिचय पत्र बनाउनेहरू बढी रहेका छन् । पासपोर्ट बनाउन यो पत्र अनिवार्य छ ।