रामेछापका उप–प्रमुख तथा उपाध्यक्षहरूको कामलाई एकरूपता दिन ‘उपमेयर्स फोरम’ गठन, संयोजकमा बस्नेत

| फागुन १, २०८० मंगलबार

A A A
A A A

०१ फागुन, रामेछाप । जिल्लामा उपप्रमुख तथा उपाध्यक्षहरूको काम र अधिकारलाई एकरूपता दिनको लागि रामेछापमा ‘उपमेयर’ फोरम गठन गरिएको छ । यो फोरमले यहाँका सबै स्थानीय तहहरूमा उप प्रमुख तथा उपाध्यक्षहरूको जिम्मेवारीहरूको खोजी गर्ने, उनीहरू अधिकारलाई कार्यान्वयनमा लैजाने र एकै प्रकारको कार्य सम्पादन गर्ने भनिएको छ । 

 

आठ स्थानीय तह रहेको रामेछापमा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको संयोजकत्वमा सोमबार ‘फोरम’ गठन गरिएको गठित संयोजक ईश्वरी बस्नेतले रामेछाप टाइम्सलाई बताइन् । 

 

उपप्रमुख तथा उपाध्यक्षहरूको कामलाई एक रुपता दिनको लागि र हाम्रो जिम्मेवारीहरूलाई पूर्ण कार्यान्वयन गर्ने, अपुग रहेका ऐन कानुनलाई पूर्णता दिएर जिम्मेवार बनाउने उद्देश्य सहित यो फोरम बनेको हो, कार्यभार समालेर कार्यान्वयन गर्ने बाँकी छ, संयोजक बस्नेत भनिन् । 

 

सोमबार मन्थली नगरपालिकाको सभा हलमा बागमती प्रदेशका  मन्त्री गंगा नारायण श्रेष्ठ सहितको उपस्थितिमा स्थानीय न्यायिक समितिका पदाधिकारी तथा जनप्रतिनिधिलाई प्रशिक्षण एवं क्षमता अभिवृद्धि तालिम पछि उक्त फोरम गठन गरिएको हो । 

जसको सह–संयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्की (थापा) चयन भएकी छन् । भने, ६ वटै गाउँपालिकाका उपाध्यक्षहरू सावित्री सुनुवार, उषा देवी कार्की, दीपा पाख्रिन, रमा घिसिङ, गीता विष्ट (चौलागाई) र खमला थापा मगर सदस्यमा चयन भएका छन् । 

 

पहिलो पटक गठन गरिएको यो फोरमले चाँडै नै पहिलो बैठक दोरम्बा शैलुङ गाउँपालिकामा राख्ने तयारी भइरहेको संयोजक बस्नेतले जानकारी गराइन् । 

 

 

संयोजक बस्नेतले उक्त बैठकपछि उप प्रमुख तथा उपाध्यक्षहरूले निर्वाह गर्दै आएका न्यायिक समितिको काम, नगर तथा गाउँ शिक्षा समितिमा आफूहरूलाई नीतिगत निर्णयबाट बाहिर राखिएका विविध विषयमा नीतिगत निर्णय गर्ने, साथै अनुभव आदान र कार्य सम्पादनमा एक रुपत्ता दिने योजना रहेको बताइन् ।