रामेछाप : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’मा सुनापति पहिलो, मन्थली दोस्रो (सूचीसहित)

| फागुन ३, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

०३ फागुन, रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न १० वटा शीर्षकलाई आधार मानेर मूल्याङ्कन गर्ने ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ (लिजा) मा रामेछापको सुनापति गाउँपालिका प्रथम भएको छ । 

 

यो पालिकाले गरेका नीति र विधिलाई केलाएर मन्त्रालयले गरेको मूल्याङ्कनमा जिल्लाको सबै भन्दा कम (५) वटा वडा रहेको गाउँपालिका प्रथम हुन सफल भएको हो । लिजामा हिरो, बेरुजूमा जिरो भाष्य नै बनाएको यो पालिकाले ऐन कानुनलाई टेकेर काम गर्दा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको तथ्याङ्कले देखाउँछ । 

 

मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार यो गाउँपालिकाले सबै भन्दा बढी ७७.५ प्रतिशत अङ्ग पाएर प्रथम बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामीले लिजामा हिरो, बेरुजुमा जिरो भन्ने कुरालाई आत्मसात् गरेर काम गर्दाको परिणाम यो हो’ बेरुजुलाई शून्य पार्नको लागि सबै काम सकिएको जानकारी गराउँदै ‘त्यसको नतिजा आउन बाँकी छ काम सबै सकेका छौँ ।’

 

त्यस्तै सदरमुकाम समेत रहेको मन्थली नगरपालिका ७७.२५ प्रतिशत अंक ल्याएर दोस्रो बन्दा पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका ७४ प्रतिशत अंक ल्याएर तेस्रो भएको छ । 

 

त्यसपछि क्रमशः जिल्लाकै दुर्गम गाउँपालिकाले परिचित उमाकुण्ड गाउँपालिकाले ७२.७५ प्रतिशत, गोकुलगंगा गाउँपालिकाले ६५.५ प्रतिशत अंक, दोरम्बा शैलुङ गाउँपालिकाले ६४.२५ प्रतिशत अंक ल्याएको उल्लेख छ ।

 

सडक पूर्वधारको क्षेत्रमा अन्य पालिकाको तुलनामा सहज रहेको खाँडादेवी गाउँपालिकाले ६२ प्रतिशत र लिखु तामाकोशी गाउँपालिकाले सबै भन्दा कम ४८.५ प्रतिशत अंक ल्याएको हामीलाई प्राप्त विवरणमा उल्लेख छ ।