स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उमाकुण्ड गाउँपालिका पहिलो, मन्थली दोस्रो, गोकुलगंगा तेस्रो

| फागुन ४, २०८० शुक्रबार

A A A
A A A

४ फागुन, रामेछाप । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन एवं विश्वस्त जोखिम मूल्याङ्कन ( ‘FRA’ आफ्आरए’) मा उमाकुण्ड गाउँपालिका प्रथम भएको छ । यो सूचाङ्लाई हेरेर संघीय सरकारले अनुदान सहयोग लगायत प्रदान गर्दछ । 

 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’मा प्रथम भएको सुनापति गाउँपालिकालाई समेत पछि पार्दै जिल्लाकै दुर्गम पालिकाको रूपमा परिचित उमाकुण्ड गाउँपालिका प्रथम बनेको हो । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार जिल्ला समन्वय समिति रामेछापले उपलब्ध गराएको विवरणमा गत आर्थिक वर्ष २०७९÷०८० मा ८५ अंक प्राप्त गर्दै उमाकुण्ड गाउँपालिका पहिलो बनेको उल्लेख छ । 

 

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन र स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न लगायतका १०० वटा सूचक भित्र रहेर मूल्याङ्कन गर्दा आठ वटा स्थानीय तह रहेको उमाकुण्ड गाउँपालिका प्रथम भएको हो । 

 

त्यस्तै जिल्ला सदरमुकाम मन्थली नगरपालिका ८३.५ अंक सहित दोस्रो, ७४.५ अंक सहित गोकुलगंगा गाउँपालिका तेस्रो भएको छ । 

 

पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाले ७०.५ अंक पाएको छ । सुनापति गाउँपालिका ६१.५, खाँडादेवी गाउँपालिकाले ५७.५, लिखु तामाकोशी गाउँपालिकाले ५१.५ र दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५०.५ अंक प्राप्त गरेको निमित्त जिल्ला समन्वय अधिकारी रमेश घिमिरेले रामेछाप टाइम्सलाई बताए । 

 

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन ७१.५९ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ७३.३२ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदन ७१.९ प्रतिशत, अनुगमन, मुल्यांकन तथा लेखा परीक्षण ५२.१२ प्रतिशत र राजस्व व्यवस्थापन ६०.३६ प्रतिशत मूल्याङ्कनका विषयक्षेत्रहरुलाई आधार मानेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो नम्बर प्रदान गर्ने गर्दछ । 

 

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यालयले (FIDUCIARY RISK ASSESSMENT) उच्चतम अंक ९९.००, १६.०० न्यूनतम अंक र औसतमा ६७ अंक प्रदान गर्छ ।