रामेछापका पत्रकार एवं संचारकर्मी श्रेष्ठ सहित ६ पत्रकार नगदसहित सम्मानित

| फागुन ५, २०८० शनिबार

A A A
A A A

५ फाुगन, रामेछाप । पत्रकार महासंघका रामेछापका कोषाध्यक्ष एवं संचारकर्मी युवराज श्रेष्ठ नगद सहित सम्मानित भएका छन् । शनिवार काठमाडौँमा भएको एक कार्यक्रममा रामेछापका श्रेष्ठ सहित ६ जना पत्रकारलाई नेवा: पत्रकार राष्ट्रिय दबूले नगद र प्रमाणपत्रले सम्मानित गरेको हो । 

 

सो संस्थाको १२ औँ साधारण सभाको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष, झंकार एफएम ९७.५ मेगाहर्जका स्टेसन म्यानेजर र प्रेस युनियन नेपालका नेता श्रेष्ठलाई नगद २० हजार सहित ‘ज्ञानदेवी– मणि स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरेको हो । 

 

उक्त पुरस्कार ज्ञानदेवी–मणि पत्रकारिता पुरस्कार ललितपुर जिल्लामा पहिलो अपाङ्गमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोती शान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गरेकी हुन् । 

 

त्यस्तै गरी वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपाल मण्डल टेलिभिजनमा क्रियाशील वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्यायलाई नगद १० हजार सहित प्रदान गरिएको छ । 

नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले देश निकाला गरेका आठ भिक्षुमध्ये एक भिक्षु कुमार काश्यप महा स्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गरेको ‘भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार’ मेट्रो एफएम कार्यरत उदेन मानन्धरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि नगद २० हजार रहेको छ । 

 

त्यस्तै देव शोभा कंसकारद्वारा स्थापित अग्रधम्मानदता ज्ञान ज्योति–लक्ष्मी प्रभा स्मृति पत्रकारिता पुरस्कार माउन्टेन टेलिभिजनका नेपाल भाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्यलाई प्रदान गरिएको छ । यो पुरस्कार नगद २० हजार राशिको हो । 

 

ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराज ‘ज्यापू फोटो पत्रकारिता पुरस्कार’ काठमाडौँका फोटो पत्रकार बुद्ध शरण शाहीलाई नगद १० हजार सहित प्रदान गरिएको छ । 

 

विजयराम कर्माचार्यद्वारा स्थापित श्रीराम स्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष समेत रहेका पुरस्कार छनौट समितिका संयोजक सुनिल महर्जनले जानकारी दिए । 

 

पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकास, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पुर्‍याएको योगदान, लैङ्गिक,भौगोलिक र लगायत पक्षलाई आधारका रूपमा पुरस्कारका लागि ती पत्रकारहरूको नामावली सिफारिस गरेको उनले बताए । 

 

सोही अवसरमा संचारमाध्यमको समावेशीकरण र नेपाल भाषा र संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ पत्रकार दण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको छ । 

 

पुरस्कृत सबैलाई बागमती प्रदेशका उद्योग मन्त्री रामकृष्ण चित्रकारले नगद र सम्मान पत्र प्रदान गरेका हुन् । 

 

सबै तस्बिर स्रोत युवराज श्रेष्ठ ।