रामेछापको अन्तिम मानव बस्ती गुम्देलको लाछेवारमा पहिलो पटक भलिबल प्रतियोगिता हुँदै

| फागुन ७, २०८० सोमबार

नुम्बुर हिमालसंगै देखिएको गुम्देल स्थित खलडाँडा गाउँ । यो हिमालको फेदीमा रहेको बस्तीमा भलिबल खेल हुने छ । तस्बिर मिलन घिमिरे / रामेछाप टाइम्स ।
A A A
A A A

७ फागुन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको सबै भन्दा दुर्गम र अन्तिम मानव बस्ती रहेको लाछेवारमा इतिहासमै पहिलो पटक ‘वृहत् खुल्ला पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । शेर्पा समुदायको बस्ती रहेको उक्त स्थानमा पहिलो पटक औपचारिक रूपमा भव्य कार्यक्रम हुने भएपछि स्थानीय खुसी भएका छन् । भने, कार्यक्रमलाई सफल पार्न गाउँ नै एक जुट भएर लागेका छन् । 

 

‘खेल खेलौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराको साथ यही फागुन २७ गते देखि तीन दिन औपचारिक रूपमा भलिबल खेल आयोजना गरिएको हो । 

 

छोरमा युवा क्लब लाछेवारको आयोजनामा शेर्पा समुदायको नव वर्ष २१५१ औँ शिङ् फो डुग लो (मेघ वर्ष) ग्याल्पो ल्होसारको उपलक्ष्यमा खेल आयोजना गरिएको छोरमा युवा क्लबका अध्यक्ष साम्देन शेर्पाले रामेछाप टाइम्सलाई बताए । 

 

‘इतिहासमै पहिलो पटक हो, हामीले तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ’ अध्यक्ष शेर्पा । 

 

वडा नं १ गुम्देल वडा कार्यालयबाटै एक दिनको पैदल मार्ग स्थित नुम्बुर हिमालको खाकमा अवस्थित लाछेवार बस्तीमा २९ गते मंगलबार सम्म चल्ने उक्त भलिबल प्रतियोगिताको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले उद्घाटन गर्ने छन् । 

 

‘एक हजार देखि १५ सय जतिको उपस्थिति हुने आङ्कलन गरेका छौँ’ बसोबास र खानपिन सम्मको तयारी गाउँपालिकाले निर्धारण गरेको मूल्य सूची अनुसार नै तोकिएको प्रस्ट पार्दै अध्यक्ष शेर्पाले रामेछाप टाइम्ससंग भने ‘कार्यक्रमलाई भव्य बनाउनको लागि हामी निरन्तर लागि रहेका छौँ ।’

 

सोमबार सम्म १० टिमले नाम दर्ता गरी सकेको जानकारी गराउँदै प्रथम हुने टिमले नगद ८८ हजार ८ सय ८८ नगद रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार जित्ने उनले बताए । 

 

त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक छोरमा युवा क्लबका अध्यक्ष शेर्पाले जानकारी गराएका हुन् । 

 

सान्त्वना हुने टिमले नगद ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् । छेवार गाउँको स्वास्थ्य चौकी नजिकै रहेको क्लबको मैदानमा हुने उक्त प्रतियोगिता समुन्द्री सतह देखि २७ सय ७० मिटरको उचाइमा हुने छ । 

 

पछिल्लो केही वर्ष यता कच्ची सडक मार्ग मार्फत वडा र पालिकासँग जोडिएको मानव बस्ती जिल्लाकै दुर्गम क्षेत्र हो ।