गोकुलगंगामा विकास निर्माणको कामको गुणस्तरमा विशेष प्राथमिकताः जेठ अगाडिनै योजना काम सक्ने, ३० प्रतिशतको भुक्तानी (भिडिओ)

उपाध्यक्ष कार्की भन्छिन् ‘विकास निर्माणका कामको गुणस्तरमा ‘कम्पर्माइज्’ गरेका छैनौँ

| फागुन ९, २०८० बुधबार

A A A
A A A

९ फागुन, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्षमा संचालित विकास निर्माणसँग सम्बन्धित आयोजनाको गुणस्तरमा विशेष प्राथमिकता दिएको बताएको छ । पालिकाले संचालन गरेका सबै कामलाई योजना अनुसार नै निर्माण हुनु पर्ने नत्र भुक्तानी नगर्ने पालिकाले प्रष्ट भनेको हो । हाल सम्म करिब ५३ वटा योजनाहरू सम्पन्न भएर ३० प्रतिशत हाराहारीको भुक्तानी समेत भइसकेको पालिकाले जनाएको छ । 

 

बुधवार रामेछाप टाइम्ससंगको कुराकानीमा गाउँपालिकाकी उपाध्यक्ष उषा देवी कार्कीले चालु आर्थिक वर्षको लागि वडा नं ६ फर्पु बाहेक सबै वडामा सम्झौता भएका कामको अनुगमन समेत अन्तिम चरणमा पुगेको बताएकी हुन् । ‘फर्पुमा वडा अध्यक्षज्यूले अलि अन्तिममा गर्ने भन्नु भएर भएको छैन । अरू सबै वडामा अनुगमन समेत गरेर अन्तिम पुर्याइसक्यौ’ आफ्नै नेतृत्वमा भएको अनुगमनले संचालित योजनालाई गुणस्तरीय बनाउन विशेष भूमिका निर्वाह गरेको दाबी सहित उपाध्यक्ष कार्कीले सुनाइन् । 

 

समितिहरुले गरेका एक/दुई ठाउँमा कमजोरी भेटिएको बताउँदै त्यसरी कमजोरी गर्नेलाई प्राविधिकहरूको सुझाव सहित स्टिमेट अनुसारको काम गर्न समय दिइने र काम राम्रो गरेपछि मात्रै भुक्तानी दिने काम हामीले गरेका छौँ’ योजना अनुगमन समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष कार्कीले प्रष्ट पार्दै भनिन् । 

 

पालिका भित्र संचालित कुलो–कुलेसो मर्मत, सडक मर्मत, चौडा पार्ने, फराकिलो बनाउने, कटिङ सोलिङ गर्ने, आवश्यकताको आधारमा प्रतीक्षालय बनाउने, नयाँ ट्याक खोल्ने लगायतका नागरिकहरूको माग बमोजिम आएका योजनालाई गुणस्तरिय बनाउनको लागि आफूहरूले ‘कम्प्रमाइज’ नगरेको उनको जिकिर छ ।

 

अनुदान दिने आधार नै भएन । संघ र प्रदेशबाट संचालित आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्न नपाउँदा हामी आलोचित हुनु पर्यो ।

 

असारे विकासलाई तोडेर जेठ अगाडि नै सबै योजनाका काम सम्पन्न गर्ने उनको भनाई छ । 

 

पालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ को लागि कूल २३८ योजना मध्ये १८१ योजना सम्झौता भएर ५३ वटा सम्पन्न भएको छ । जसमा सम्झौता भएर काम भइरहेका र सकिएका सहितको ३० प्रतिशत हाराहारीमा भुक्तानी समेत भइसकेको पालिकाका सूचना अधिकारी सञ्जय सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिएका हुन् । 

 

सूचना अधिकारी सुनुवारका अनुसार अहिले ‘कोल्ड स्टोर’ निर्माणको लागि एक करोड ठेक्का भइसकेको छ । त्यस्तै बोरी गंगा हलुवा सिँचाइ ८३ लाखको ठेक्का भएको बताउँदै योजनाहरू धमाधम भइरहेको छन् । 

 

उपाध्यक्ष कार्कीले गाउँपालिका भित्र संघ र प्रदेशबाट संचालित आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्न नपाउँदा ती आयोजनाहरूले गरे काममा केही समस्या हुँदा आफूहरू आलोचित हुनु पर्दा दुःख लागेको बताइन् । ‘यसो हुनु दुःख लाग्दो विषय हो, मैले केही अगाडि देखि भन्दै आएको छु । यहाँ हुने कामहरूको हामीले निगरानी गर्न पाउनु पर्छ । त्यसो नहुँदा काम पालिकाभित्र हुने तर हामीले हेर्न नपाउँदा बाहिर प्रश्न उठ्दा हामीले आलोचना खेप्नु पर्दा समस्या भइरहेको छ । त्यो राम्रो भएन ।’

 

गाउँपालिकामा केही गर्छु भनेर योजना सहित आउने जो कोहीलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै उपाध्यक्ष कार्कीले विगतका जनप्रतिनिधिले अनुदान दिएर सुरु गरेका कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, भैँसी गाई पालनहरू अहिले स्थानीयहरूले नै छाडेकाले अनुदान दिने आधार नै भएन भनिन् । 

 

अनुदानमा सुरु गरेको कामलाई निरन्तर दिए आफूहरूले अनुदान दिन तयार रहेको तर देखावटी गरेर रकम अपचलन गर्ने र दुरुपयोग गर्ने वातावरण देखेको कारण चाहेर पनि अनुदान दिन नसकेको प्रष्ट पारिन् । 

 

न्यायिक समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष कार्कीले पालिकामा सम्पर्कमा नआएर टुङ्गिन बाँकी रहेका ३ वटा बाहेक अन्य मुद्दाहरू सबै मेलमिलापको माद्यामबाट समाधान गरिएको प्रष्ट पारिन् । 

 

बाँकी भिडिओमा हेर्नुहोस् के-के भनिन् उपाध्यक्ष कार्कीले 

 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार