रामेछापको लिखु तामाकोशी गाउँपालिकाले सोनाम ल्होसारको कार्यक्रम हेर्न भोलि पालिकाभर सार्वजनिक बिदा दियो

| फागुन १०, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

१० फागुन, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले भोलि शुक्रवार तामाङ समुदायको सोनाम ल्होसारको कार्यक्रम हेर्न सार्वजनिक बिदा दिएको छ । जारी पत्रमा कार्यक्रम आयोजना गरिएको हुँदा बिदा दिएको भनेको हो ।

 

बिहीबार बसेको गाँउकार्यपालिकाको बैठकले भोलि बिदा दिने निर्णय गरे अनुसार तामाङ समुदायको २८६० औँ (डुक लो) सोनाम ल्होसारको उपलक्ष्यमा पालिका भर सरकारी संस्था र सम्बन्धित सरोकारवाला निकायहरू सबै बन्द हुने प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिए । 

 

यो वर्ष तामाङ समुदायको सोनाम ल्होसार पर्व गएको माघ २७ गते शनिवार परेको थियो । तर, त्यति बेला शनिवार बिदा नै परेर सार्वजनिक बिदा नदिएको यो पालिकाले १३ दिन पछि बिदा दिएको हो । 

 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जारी गरेको पत्रमा ‘वृहत् ल्होसार कार्यक्रमको आयोजना गरिएको हुँदा गाउँपालिकाले स्थानीय स्तरमा सार्वजनिक बिदा दिने निर्णय भएको’ उल्लेख छ । 

 

कसले आयोजना गरेको कार्यक्रमको कारण बिदा दिएको उल्लेख नगरी बिदा दिइएको हो । यसबारेमा रामेछाप टाइम्सलाई बुझ्नको लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई पटक–पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् । 

 

साथै गाउँपालिका अध्यक्ष केशव महतले आफू बैठकमा व्यस्त रहेकाले पछि सम्पर्क गर्ने बताए । 

 

यस अगाडि सोनाम ल्होसार पर्वको बिदा भन्दै जिल्लाको खाँडादेवी र दोरम्बा शैलुङ् गाउँपालिकाले शनिवार बाहेक थप १-१ दिन बिदा दिएका थिए ।  भने, सुनापति गाउँपालिकाले शनबिार बाहेक थप २ दिन बिदा दिएको थियो । 

 

यो हेर्नुहोस् जारी पत्र