रामेछापको मन्थली सहितका भू–भागमा यो वर्षको पहिलो हिउँदे वर्षा

| फागुन १०, २०८० बिहिबार

A A A
A A A

१० फागुन, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको छ । साथै आसपासका भू–भागमा समेत आज वर्षा भएको छ । केही ठाउँमा असिना समेत परेको स्थानीयहरूले जानकारी दिएका छन् । जिल्लाको माथिल्लो भेगमा हिमपात भएको छ । 

 

केही दिन यता बदली हुँदै आएको मौसमको प्रभाव अनुसार बिहीबार साँझ ५ बजे देखि वर्षा सुरु भएको हो । चार पाँच दिन यता निरन्तर बिहान नै देखि मौसम धुम्म हुने, पारिलो घाम नलाग्न, हावाहुरी चल्न हुँदै आएको थियो । तर, पानी भने पर्न सकेको थिएन । 

 

यो वर्षको हिउँद लागेदेखि नै वर्षा नहुँदा धुलो–धुवाँ, तुवाँलो लाग्ने र चाँडै गर्मी समेत महसुस गर्नु पर्दा मानिसहरू विभिन्न रोगको सिकार बन्न बाध्य थिए । साथै हिउँदे बाली तरकारी लगायत वर्षा नहुँदा सुक्न थालेका थिए । साथै खडेरीका कारण खानेपानीको समेत जिल्लाको कतिपय स्थानमा समस्या भइरहेको थियो । 

 

पानी परेसँगै सबै खुसी देखिएको छन् भने, बालीनालीलाई समेत फाइदा पुगेको छ । 

 

शुक्रवार देश धेरै ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।