अन्तर्राष्ट्रिय महिला दिवस : मन्थलीमा वक्तृत्वकला प्रतियोगितामा यी महिलाहरूले जिते उत्कृष्ट हुँदै नगदसहित पुरस्कार, कसले के भने ?

| फागुन २४, २०८० बिहिबार

A A A
A A A

२४ फागुन, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शुक्रवार परेको ‘११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस २०८०’ को अवसरमा बिहीबार ‘वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रममा’ सम्पन्न गरेको छ । भोलि शुक्रवार २५ गते (मार्च, २०२४) को अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।  

 

नगरपालिकाकी उपाध्यक्ष ईश्वरी बस्नेतको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौलाको प्रमुख आतिथ्यतामा नगरमा सम्पन्न वक्तृत्वकलामा ११ जना महिला, आमा दिदी बिहानीले सहभागिता जनाएका थिए ।  ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थलानी’ भन्ने विषयमा भएको वक्तृत्वकलामा लघु उद्यमी महिला समूहकी विनिता श्रेष्ठ प्रथम भएकी छिन् । किशोरी अवस्था उमेर समूहकी श्रेष्ठले प्रथम हुँदै नगद ७ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र जितेकी हुन् । 

 

लघु उद्यमी समूहकै सदस्य प्रमीला न्यौपानेले दोस्रो हुँदै नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । विजेताहरूलाई उपप्रमुख बस्नेत सहित (सिडिओ) निरौलाले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे । 

 

त्यस्तै दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्थाकी सदस्य सरिता खड्का तेस्रो भएकी छिन् । भने, अविरल महिला जागृति बचत तथा ऋण सहकारी संस्था कठजोरकी सीमा अधिकारी सान्त्वना बनेकी छिन् । उनीहरूलाई क्रमशः नगद ३ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाको महिला बालबालिका शाखा प्रमुख भगवती तामाङले रामेछाप टाइम्सलाई जानकारी दिइन् । 

१४ वटै वडाका महिला दिदीबहिनीहरूलाई समेट्ने गरी वक्तृत्वकला कार्यक्रम आयोजना गरेको उद्घोष गर्दै शाखा प्रमुख तामाङले भनिन् ‘सूचना सबैलाई गरेका हौँ । तर, केही वडा आउनु भएन ।’

 

सोही क्रममा महिलाहरूलाई संविधानले दिएको ३३ प्रतिशत अधिकार समेत कार्यान्वयन हुन नसकेको, महिलाहरूका समस्या, समाधानको लागि थाल्नु पर्ने प्रयास, तीनै तहका सरकारहरूले महिलाहरूको सवालमा खेल्नु पर्ने भूमिका लगायतका विषय सहित घरायसी, पारिवारिक र सामाजिक समस्या, गुनासाको बारेमा सहभागीहरूले आक्रोशसहित प्रश्न गरेका थिए ।

 

आफूहरूलाई राज्यका विभिन्न निकायले समस्यामा पारी रहेको दाबी गर्दै स्थानीय तहले समेत महिलाहरू उद्यमी, व्यवसायी बन्छु भनेर लाग्दा सहयोग नगरेको गुनासो गरे । वडा नं ३ की सीमा अधिकारीले आफूले व्यवसायीक बाख्रा पालन र तरकारी खेती गर्दै आएको सुनाउँदै राज्यका कुनै पनि निकायबाट तरकारीको लागि पानी हाल्छु भनेर ट्याङ्की माग्दा समेत नपाएको गुनासो गरिन् । 

 

‘उद्यमी बनिरहेकी एक महिलालाई पानीको ट्याङ्की चाहियो भनेर धेरै ठाउँ भने । सुनाए । वडाबाट प्राविधिकहरू हेर्न पनि आए तर, पानीको ट्याङ्की अझै पाएकी छैन । बोतलमा पनि भरेर मैले तरकारी खेती गर्दै आएको छु’ महिलालाई अगाडि बढाउनु पर्छ भन्ने तर सहयोग र अनुदान कसैले नदिने यसरी कहिले सम्म बस्ने उनले आक्रोश पोख्दै उपप्रमुख प्रति लक्षित सहित भनिन् ।

 

त्यस्तै अर्की वडा नं १ की महिलाले पनि तालिमहरू के–के चाहिन्छ भन्दै पहिलो पटक-पटक सोधे पछि दिने बेलामा खिम्ती लगायतका वडामा लगे । हामीले केही पनि सिपमूलक तालिम पाएका छैनौँ’ जनप्रतिनिधिको नजिक हुनेहरूले मात्रे सेवा सुविधा पाएको दाबी गर्दै ती महिलाले भनिन् ‘नगरको हो कि आफ्नालाई मात्रै दिएको हो यसको सोधिखोजी हुनु पर्‍यो ।’ 

 

कार्यक्रमको समापनमा बोल्दै सिडिओ निरौलाले महिलाहरू पछिल्लो समय शिक्षितसँग सँगै उद्यमशील, लगनशील, आत्मनिर्भर, क्षमतावान् र आर्थिक रूपमा सबल बने अधिकारहरूको उपयोग गर्दै जाने वातावरण सिर्जना हुने धारणा राखिन् । विगतमा महिलाहरू शिक्षा बिनै पनि जीवन धान्नको लागि अनेकन प्रयास गर्दै सकारात्मक बाटोमा अगाडि बढिरहेको स्मरण गर्दै अब त्यो बाटो फेरेर शिक्षित र सक्षम बन्नु पर्नेमा जोड् दिइन् । 

महिलाहरूले अधिकार माग्ने सँगसँगै पुरुषलाई पनि लिएर हिँडेमा मात्रै समता र सभ्य समाज बन्ने उनको विश्वास थियो । ‘हामी एक्लै हिँड्ने हैन कार्यक्रममा पनि महिला मात्रै भएर हुन्न । पुरुषलाई पनि डाक्नु पर्‍यो । विविध गरेर कहिले हुँदैन ।’ 

 

त्यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले कार्यक्रममा बोल्दै महिला र पुरुष समान हुने परिस्थिति सिर्जना नहुँदा सम्म सबैले खोजेको विकास र समृद्धि नहुने धारणा राखे ।  साथै उनले महिलाहरूले आफ्नो अधिकार खोज्दै गर्दै पुरुषलाई पछाडि छोडेर वा द्वन्द्वात्मक रूपमा अगाडि बढ्न खोजे र कहिले पूरा हुन नसक्ने बताए । 

 

नेपालमै महिला राष्ट्रपति जस्तो पदमा गरिमामय पदमा समेत पुगी सकेको उल्लेख गर्दै केही भएन । महिलाको अधिकारी छदै छैन भन्ने भाष्यको पनि अन्त्य गर्न आवश्यक भएको उनको भनाई छ ।