रामेछापको अन्तिम मानव बस्तीमा पहिलो पटक सम्पन्न भयो भलिबल खेल : आयोजक ‘छोरमा’ आफैले जित्यो उपाधि

| फागुन २९, २०८० मंगलबार

A A A
A A A

२९ फागुन, रामेछाप । रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिकाको लाछेवरमा पहिलो पटक भएको भलिबल प्रतियोगिताको उपाधि आयोजक आफैले जितेको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल स्थित साबिकको वडा नं १ लाछेवरमा पहिलो पटक सम्पन्न ‘वृहत् खुल्ला पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक छोरमा युवा क्लब लाछेवारले जितेको क्लबका अध्यक्ष एवं आयोजक साम्देन शेर्पाले रामेछाप टाइम्सलाई बताए । 

 

‘चुनावको बेलामा भोट माग्न’ आक्ल्-झुक्कल नेताहरू पुगेर अनौपचारिक रूपमा भेला मात्रै हुने त्यहाँ पहिलो पटक भएको भव्य औपचारिक कार्यक्रममा आयोजक आफैले रातो तारा युवा क्लबलाई पछि पार्दै प्रथम पुरस्कार नगद ८८ हजार ८ सय ८८ रुपैयाँ राख्न सफल भएको हो । 

 

मंगलबार विजेता खेलाडीहरूलाई आइतबार उपाध्यक्ष सावित्री सुनुवार सहितको उपस्थितिमा उद्घाटन गरेर खेल सुरु गरेका पालिका अध्यक्ष शेरबहादुर सुनुवारले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे । पालिका अध्यक्ष सुनुवार खेल अवधिभर त्यही बसेका हुन् । 

 

केही समय अगाडि मात्रै दर्ता भएर त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्न अग्रसर बनेको छोरमा युवा क्लबद्वारा आयोजित नौ (९) टिम सहभागी प्रतियोगितामा सोही पालिकाको वडा नं १ गुम्देलकै साबिकको वडा नं २ क्यामाको रातो तारा युवा क्लब दोस्रो बनेको छ । उसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

 

त्यस्तै सोलुखुम्बु (टाक्टोर) को सगरमाथा युवा क्लब तेस्रो हुँदै नगद ३३ हजार ३ सय ३३ ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पुगेको छ । 

 

भने, युथ् रोशी उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारको टिम सान्त्वना हुँदै नगद ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । 

 

गाउँपालिकाले नगद २ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको तीन दिने भलिबल र सांस्कृतिक कार्यक्रममा झण्डै २० लाख खर्च लागेको आयोजक क्लबका अध्यक्ष शेर्पाले रामेछाप टाइम्ससंग बताए । 

‘सबै खर्च हेर्दा २० लाख हाराहारीमा भएको छ । पालिकाले २ लाख दिने निर्णय गरेको जानकारी पाएका छौँ’ अध्यक्ष शेर्पा । 

 

मंगलबार खेल समापनमा पालिका अध्यक्ष सुनुवार सहित प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौला, जिल्ला प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुली पनि त्यहाँ पुगेका थिए । 

 

नुम्बुर हिमाल (महालङ्गुर) को फेदीमा स्थानीय क्लबले खेल आयोजना गर्ने जानकारी पाए लगत्तै पालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन् । 

 

तीन दिन सम्म चलेको प्रतियोगितामा सोही वडाका वडा अध्यक्ष ङातिण्डू शेर्पा अन्य वडाका वडा अध्यक्षहरु सहित चार सय बढीको उपस्थिति देखिएको आयोजक क्लबको भनाई छ।