संचालनमा आयो भटौली वडा कार्यालय, हाल सम्म मन्थलीको कुन–कुन वडा कार्यालय बने ?

| चैत १, २०८० बिहिबार

A A A
A A A

१ चैत, रामेछाप । मन्थली नगरपालिका वडा नं ७ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधवार नगरपालिका प्रमुख लव श्रेष्ठले प्रमुख जिल्ला अधिकारी अनिता निरौला, उपप्रमुख ईश्वरी बस्नेत सहितको उपस्थितिमा भवन उद्घाटन गरेका हुन् । 

 

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नवनिर्मित भवनबाट सेवा प्रवाह सहज भएको उल्लेख गर्दै नागरिकको आवश्यकता एवं प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे । 

 

त्यस्तै उपप्रमुख बस्नेतले नागरिकहरूका चाहना र अपेक्षा धेरै तर स्रोत र साधन थोरै हुँदा सोचे जति काम गर्न नसकेको स्वीकार गर्दै १४ वटै वडामा समानुपातिक विकास गर्दा देखिने काम थोरै भएको बताइन् । 

 

वडा स्तरीय राजनीतिक दलका नेता कार्यकर्ताहरू सहित वडा अध्यक्ष भुवनहरि प्रसाईँ, ५ नम्बरका वडा अध्यक्ष रविन कार्की (नवीन) सहित स्थानीयहरूको भव्य उपस्थितिका बिच भएको उद्घाटन कार्यक्रममा वडा कार्यालय भवन निर्माणको लागि ११ आना जग्गा प्रदान गर्ने पूर्णबहादुर माझी, ५–५ आना जग्गा दिने अक्कल बहादुर माझी र पञ्चबहादुर माझीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । 

 

त्यस्तै सहरी स्वास्थ्य केन्द्र बडी मुहानका लागि १ रोपनी जग्गा उपलब्ध गर्ने कल्पना कुमारी श्रेष्ठ र ४ आना जग्गा दिने दुर्गाकुमारी खत्रीलाई पनि सम्मा पत्र सहित सम्मान गरिएको हो । 

 

 

चालु आर्थिक वर्षको १ करोड ३६ लाख लागतमा निर्धारित समयमै न्यु बेन्जामिन निर्माणले दुई तले सुविधा सम्पन्न भवन बनाएको हो । 

 

 

नगरपालिकाले १४ वटै वडामा एकै प्रकारको भवन निर्माण गर्ने लक्ष्य समेत लिएको छ । यसै आर्थिक वर्षमा नगरपालिकाको वडा नं १ र ३, ११ को भवन उद्घाटन हुने चरणमा रहेका छन् । 

 

 

त्यस्तै २, ८, १० र १४ नम्बरको वडा विगतका वर्षबाटै संचालनमा आएको छ । ४ नम्बरको भवन निर्माणको लागि जग्गा प्राप्त भएर प्रक्रिया अगाडि बढेको छ । भने, ५ नम्बरको भवन बनेको छैन ।

 

त्यस्तै १३ नम्बरको भवन निर्माणाधीन रहेको छ । 

 

त्यस्तै ६ र १२ नम्बरको हाल सम्म जग्गा लगायतका विभिन्न विवादले भवन बन्ने पक्का हुन सकेको छैन । ९ नम्बरको पुरानै भवनबाट सेवा प्रवाह भइरहेको छ ।