कृषि र जडिबुट्टीको बजारीकरणको लागि गोकुलगंगा–१ मा हाट सञ्चालन गर्ने तयारी, कोसेली घर पनि बनाइँदै

| चैत १, २०८० बिहिबार

A A A
A A A

३० फागुन, रामेछाप । गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा स्थानीय कृषि उपज, जडीबुटी, तरकारी, फलफूल सहित खेर गइरहेका र बजार नपाएर गाउँमै कुहिएर फाल्नु पर्ने वस्तुहरूको बजारीकरण गर्ने उद्देश्यले ‘स्थानीय हाट बजार’ सञ्चालन गर्न लागिएको छ । बजार नपाएर बसेका कृषि उपजलाई ठाउँ दिएर स्थानीयहरूको जिवीको उपार्जनमा समेत टेवा पुर्‍याउन स्थानीय बजारले विशेष मद्दत पुग्ने वडा र पालिकाको विश्वास रहेको छ । 

 

बुधवार रामेछाप टाइम्ससंग कुराकानी गर्दै चुचुरेका वडा अध्यक्ष छत्रबहादुर बस्नेतले हाट बजार सञ्चालन गर्ने योजना सहित पहिलो चरणमा कोसेली घर निर्माणको काम अगाडि बढाइएको बताएका हुन् । उनले पालिकाको एक करोड, प्रदेश र संघीय सरकारको विभिन्न योजनामा गरी झण्डै ५ करोड माथिको बजेट मार्फत वडामा विकास निर्माणका काम भइरहेको समेत जानकारी गराए ।

 

‘चालु आर्थिक वर्षमा पालिकाको पाँच लाख लागतबाट कोसेली घर बनाउने र राम्रो चल्यो भने यसलाई साप्ताहिक रूपमा ‘हाट बजार’ को रूपमा चलाउने हाम्रो योजना हो’, गाउँपालिका अध्यक्ष  ज्यूले (काजीबहादुर खड्का (दिनेश)) पनि स्थानीयहरूको माग आएको भए परिस्थिति हेरेर कोसेली घरबाट सुरु गर्नु र पछि राम्रो भएमा हाट बजारकै रूपमा सञ्चालन गर्न सकिन्छ भन्नु भएको छ, पालिका अध्यक्ष खड्काको योजना र आग्रह बारे सुनाउँदै वडा अध्यक्ष बस्नेतले भने ‘कोसेली घर’ बाट राम्रो भयो भने साप्ताहिक हाट सुरु गर्छौँ ।’

गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे । शिवालय बजार, तस्बिर फाइल 

 

मङ्गलवार वडाले कोसेली घर निर्माण गर्ने प्रक्रिया अन्तर्गत नै समिति गठन गर्न वडावासीमा समेत आह्वान गरेको छ । यही चैत्र ४ गते सम्म कृषि हाट बजार संचालको लागि उक्त घर निर्माणको लागि समिति गठन गर्न भन्दै आह्वान गरेका हुन् । 

 

पछिल्लो समय गाउँलेहरू रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने होडबाजी भइरहेको तर्फ उल्लेख गर्दै स्थानीय हाट बजार चलाउन सके बजारीकरण पनि हुने र आम्दानीको स्रोत समेत बन्ने वडा अध्यक्ष बस्नेतको भनाई छ । 

 

छिमेकी जिल्ला दोलखाको जिरी नगरपालिकाका केही वडाहरू र उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्तिभण्डार सहित सबै वडाहरूबाट समेत सहज सडक मार्गले जोडिएको चुचुरेमा विगत २० वर्ष अगाडि पनि ‘हाट’ लाग्ने स्मरण गर्दै वडा अध्यक्ष बस्नेतले भने ‘जिरीका दुई वडा र उमाकुण्डको गुम्देल देखिका मान्छेहरू यात्रा गर्ने हुँदा कारोबार हुन्छ । तराईबाट पनि सामाग्री आयात गरेर सुपथ मूल्यमा बेच्न सके धेरैले रोजगारी पाउँछन् भन्ने हाम्रो विश्वास हो ।’

 

विगतमा पैदल यात्रा भएर सगरमाथा प्रवेशद्वारको रुपमचा चर्चित चुचुरेमा धार्मिक स्थलहरू समेत पर्याप्त रहेको बताउँदै पाँचपोखरी, जट्टापोखरी, थुतुङ्गुम्बा, देउराली, सेर्दिङ लगायतका स्थानहरूमा यही मार्ग भएर जानू पर्दा समेत हाटको पवर्द्धनमा थप सहज हुनेमा उनको विश्वास रहेको थियो । 

 

गाउँपालिकाले पनि स्थानीय उत्पादनको संकलन र भण्डारण गर्नको लागि कोल्ड स्टोर निर्माणको लागि ठेक्का लागेर काम अगाडि बढाए सकेको छ । कृषि क्षेत्रमा निकै ठुलो सम्भावना बोकेको गोकुलगंगा गाउँपालिकाले स्थानीय उत्पादनलाई स्थानीय स्तरकै बजार र बाहिरी जिल्लामा समेत निर्यात गर्ने लक्ष्य लिएर वृहत् योजना सहित काम गरिएको पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को भनाई छ । 

 

यो वर्ष पनि आलु, किवी लगायतका उत्पादनले राम्रो बजार पाउन सफल भएको भन्दै उनले उत्पादनलाई वृद्धि गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू भइरहेको उनको भनाई छ ।