डिभिजन वन कार्यालय नजिकै आगो लगाउने एक वृद्धलाई नियन्त्रणमा लिइयो

| चैत १, २०८० बिहिबार

आगो लगाउने वृद्ध ।
A A A
A A A

१ चैत, रामेछाप । सुख्खा र गर्मी याम लागेसँगै जिल्लामा डढेलो एवं आगोलागिका घटना घटन सुरु भएको छ । सुख्खा ग्रस्त रामेछापमा केही दिन यता मात्रै विभिन्न ठाउँमा डढेलो एवं आगो लागेको छ । 

 

बुधवार रामेछाप नगरपालिका वडा नं ८ स्थित डिभिजन वन कार्यालय नजिकैको जिल्ला कारागार परिसरको वनमा आगो लागेको थियो । सो आगो विभिन्न निकायको सहयोगमा नियन्त्रणमा लिएको छ । साथै डढेलो लगाउने एक जना ८५ वर्षीय वृद्धलाई समेत नियन्त्रणमा लिएको छ । 

 

नजिकै सल्लाको वन रहेको स्थानका स्थानीय चतुरे बि.कले बारीको झ्यास पोल्नको बालेको आगो वनमा सल्किएपछि उनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रामेछापले रामेछाप टाइम्सलाई बताएको हो । 

 

‘वृद्धले झ्यास पोल्न बारीमा आगो बालेका रहेछन्, जङ्गलमा सल्कियो । चाडै नियन्त्रणमा लियौँ । नजिकैका दुई घर झन्डै जले’, नाम नखुलाउने सर्थमा वनका एक कर्मचारीले रामेछाप टाइम्ससंग भने ।  बर्खा याममा समेत पानी नपरेपछि ‘धूप’ जस्तै बनेको रामेछापका भू–भागको मुडा जोरमा पनि केही दिन अगाडि लागेको डढेलो निभाइएको थियो । 

 

ती वृद्धलाई डिभिजन वन कार्यालय रामेछापले बिहीबार कार्यालयमा बोलाएर थप अनुसन्धान गरेको छ । गत वर्षमा पनि ती वृद्धले आफ्नै बारीको फोहोर जलाउन बालेको आगो सल्किँदा छिमेकीको घाँस जलेको थियो । 

 

त्यस्तै मन्थली नगरपालिकाको वडा नं ९ पुराना गाउँ स्थित स्थानापती मन्दिर नजिकैको सुख्खा पाखोमा पनि आगो लागेको छ । 

 

विशेष गरी रामेछापको मन्थली र रामेछाप नगरपालिका सहित सुनापति र खाँडादेवी गाउँपालिका अन्य स्थानीय तहको तुलनामा डढेलोको उच्च जोखिम क्षेत्र मानिन्छ । वनमा आगो लगाउनेलाई विगो असुल उपर गरी ६० हजार सम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।