रामेछापका आगोलागि पीडितलाई ‘कान्छाराम’ले प्रति परिवार १०–१० हजार सहयोग गर्ने, काँग्रेसका यी नेताहरूले पनि जनाए आशा लाग्दो प्रतिबद्धता

| चैत ३, २०८० शनिबार

A A A
A A A

३ चैत, रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछापका आगलागी पीडितलाई प्रति परिवार १०–१० हजार सहयोग गर्ने भएका छन् । साथै अन्य काँग्रेसका नेताहरूले पनि पीडितहरूको साथ र सहयोगमा रहेको बचन दिएका छन् । 

 

शुक्रवार तरुण दल रामेछापले आयोजना गरेको प्रथम तरुण सम्मेलनमा बोल्दै सांसद समेत रहेका जिल्ला पार्टी सभापति तामाङले ‘त्यो आगलागी पीडितहरूको साथमा काँग्रेस रहेको छ । पार्टीले के गर्न सक्छौँ छलफल गर्छ । तर, मेरो व्यक्तिगत रूपमा सबै परिवारलाई १० हजारको दरले उपलब्ध गर्ने मैले मेयर सापलाई पनि भनी सकेको छु । म, दिन्छु ।’

 

त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद उदय शम्शेर राणाले पनि आगलागी पीडितहरूको साथमा काँग्रेस रहेको उल्लेख गर्दै जिल्लाका पार्टी र भातृ संस्थाहरूलाई त्यस विपद्मा साथ र सहयोग गर्न आग्रह गरे । 

 

तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका राणाले पनि आगोलागि पीडितलाई आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ‘मेरो तर्फबाट पनि सहयोग र राहतका सामान पठाउने प्रतिबद्धता भयो’ भने ।

 

त्यस्तै तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पनि तरुण दल सधैँ पीडितहरूको साथमा सँगसँगै रहेन भन्दै आगोलागि पीडितहरूको उद्धार र पुनः स्थापनामा सहयोग गर्न आग्रह गरे । जाजरकोट भूकम्प पीडितलाई सयौँको सङ्ख्यामा अस्थायी टहरा राहत वितरण गरेको सुनाउँदै यहाँका पीडितहरूको साथमा पनि तरुण दल रहेको बताए । 

 

त्यस अगाडि रामेछाप नगरपालिकाका नगर प्रमुख समेत रहेका नेपाली काँग्रेस रामेछापका पूर्व सभापति लवश्री न्यौपानेले आफ्नो नगरमा आगोलागिले १४ घर नष्ट पारेको भन्दै सबैको साथ र सहयोग चाहिएको बताएका थिए । उनले सबैले यो बेलामा सहयोग गरिदिन पनि अपिल गरे । 

 

गत बिहीबार रामेछाप नगरपालिका वडा नं ९ को टार गाउँमा जंगलबार सल्किएको आगो बस्तीमा लाग्दा १२ घर परिवारका १४ वटा घर सहित २६ घरगोठ, २ वटा भैँसी, एउटा गोरु,  ६० भन्दा बढी खसी बाख्रा, सङ्ख्या खुल्न नसकेको सबै घरका कुखुरा जलेर मरेका छन् । 

 

दिउसो ३ बजेको समयमा लागेको आगोले १४ घर खरानी बनाएको हो ।