टार गाउँका आगोलागि पीडितहरूको साथमा छौँ भन्दै मन्थली नगरपालिकाले गर्‍यो राहतसहित भेट, थप सहयोग गर्न आज बैठक बस्दै

| चैत ३, २०८० शनिबार

A A A
A A A

३ चैत, रामेछाप । मन्थली नगरपालिकाले रामेछाप नगरपालिकाका आगलागी पीडितलाई साथमै रहेको भन्दै राहत सहित भेटघाट गरेको छ । आगोलागि पीडितहरूको मनोबल बढाउन र पीडामा साथमै छौँ भन्नलाई पुगेको नगरपालिकाको भनाई छ । 

 

शुक्रवार नगरप्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ सहितको टोली घटना स्थलमै पुगेर छिमेकी नगरका पीडितहरूको साथमै भएको सान्त्वना प्रदान गरेका हुन् । घटना स्थलको निरीक्षण पछि नगर प्रमुख श्रेष्ठले निकै दुखदायी घटना घटेकाले आफूहरू पनि पीडितको साथमा रहेको बताए । 

 

‘भेटघाटको रूपमा गएका हौँ । आज विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्ने तयारी छ । शुक्रवार हामी भेटघाटको लागि मात्रै गएका हौँ’ आज बस्ने बैठकले निर्णय गरे पछि थप के गर्न सकिन्छ । त्यो गर्छौँ’, मन्थलीका नगरप्रमुख श्रेष्ठले रामेछाप टाइम्ससंग भने ।

 

१२ घर परिवारको २६ घर गोठ सहित धनमाल गुमाएका पीडित परिवारलाई पहिलो चरणमा आफूहरूले प्रतिपरिवार १–१ बोरा चामल, १० किलो प्रति परिवार चिउरा र चाउचाउ प्रदान गरेको नगरप्रमुख श्रेष्ठले बताए । 

 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक शनिवार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय रामेछापमा डाकिएको छ । जिल्लामा आगोलागि र डढेलोका घटना दैनिक जसो भइरहेको बेलामा समितिको बैठक बस्न लागेको हो । 

 

आजको समितिको बैठकले पीडितहरूलाई अस्थायी टहरा निर्माण, पीडितहरूको पुनः स्थापना लगायतका कदम अगाडि बढाउने निर्णय गर्न सक्ने बुझिएको छ । 

 

शुक्रवारै नेकपा (एमाले) रामेछापले पनि पहिलो चरणमा घटना स्थलै पुगेर राहतका सामग्री प्रदान गरेको छ ।