बाइडन र पुटिनद्वारा एक अर्काको प्रशंसा, झन्डै तीन घण्टा वार्ता

| असार ३, २०७८ बिहिबार

फाइल फोटो बिबिसीबाट साभार
A A A
A A A

०३ असार, काठमाडौं । अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनिभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन्। तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बिबिसीले लेखेको छ । 

 

अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताएको जनाएको छ। 

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले समान धारणाु राखेको बताए।

छलफलमा के भयो ?

दुई नेताहरू बीचको छलफल झन्डै तीन घण्टा चलेको थियो ।  वार्ताका लागि त्यो भन्दा बढी समय छुट्याइएको भएपनि बाइडनले आफूहरूलाई थप समय नचाहिएको र रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बताए।

 

रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आएका थिए । पुटिनले बाइडनलाई उपहार दिए वा दिएनन् प्रस्ट भइसकेको छैन। दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन्।

सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आ–आफ्ना राजदूत फिर्ता गरेका थिए।

तर साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा सहमति भएका कुनै सङ्केत देखिएनन्।
नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि 'भयावह परिणाम' निम्त्याउने बाइडनले चेतावनी दिए। शिखर बैठकअघि दुवै पक्षले आपसी सम्बन्ध हालसम्मकै न्यून बिन्दुमा पुगेको बताएका थिए।

 

पुटिनले बन्दीहरू साटासाटबारे सहमति हुनसक्ने सङ्केत गर्दै सम्झौतामा पुग्न सकिने सम्भावना औँल्याएका थिए।

 

साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको उल्लेख गर्दै आफ्नो देशलाई लक्षित गरी गरिने त्यस्ता अधिकांश हमलाको मूल श्रोत अमेरिका भएको बताए। बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आक्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताए।

अमेरिकी अधिकारीहरूले माहौल सकारात्मक रहेको बताएका छन

हालै २४ दिन भोक हडतालमा बसेका नभाल्नीका बारेमा अमेरिकी सरोकार खारेज गर्दै पुटिनले उनले कानुन मिचेको र जेल सजाय हुने आफू स्वयंलाई थाहा भएको बताए।

केही समय पहिले जर्मनीमा उपचार गराएर रुस फर्किएका नभाल्नीले आफूलाई पुटिनको आदेशमा स्नायु प्रणालीमा असर गर्ने विष दिइएको बताउने गरेका छन् । त्यसलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आएका छन्।

 

रुसले आफ्नो भूमिमा अस्थिरता नचाहेको उल्लेख गर्दै पत्रकार सम्मेलनमा पुटिनले रुस परमाणु शक्ति भएको बारम्बार दोहोर्‍याएका थिए।