लुक्लामा मौसम खराब हुँदा बिहानै देखि मन्थली–लुक्ला उडान ठप्प, दुई सय बढी पर्यटक मन्थलीमा रोकिए
१६ चैत, रामेछाप (मन्थली)। लुक्लामा मौसममा आएको खराबीको कारणले मन्थलीमा झण्डै दुई सय यात्रु रोकिएका छन् । आज उडान हुने सम्भावना नरहेको रामेछाप विमानस्थलको भनाई छ ।
रामेछाप विमान स्थल कार्यालय मन्थलीले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार शुक्रवार बिहान ८ बजेदेखि नै उडान ठप्प भएको हो ।
‘सोलु खुम्बुको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सिता, तारा र समिट एयरका विमान रामेछाप (मन्थली) ग्रउन्डमै राखिएको छ’, विमान स्थलका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले रामेछाप टाइम्ससंग भने ।
केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन । भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकप्टरले चार्टर उडान गरिरहेको छ ।
‘यहाँबाट हेलिले सुर्के उडान गरिरहेको छ । दुई सय जना भन्दा बढी यात्रु यही रोकिएका छन् । आज उडान हुने सम्भावना कम छ । मन्थलीमा कुनै समस्या छैन । लुक्लाको मौसमले समस्या भएको हो’, उनले भने ।
दिउँसो १ ः १५ बजे रामेछापको आकाशमा हेलिकप्टरको चार्टर उडानहरू मात्रै भइरहेको छ ।
गत मार्च २५ तारिकदेखि रामेछाप विमान स्थल (मन्थली–लुक्ला) उडान सुरु भएको थियो । सगरमाथा लगायत प्रवेश गर्ने पर्यटकहरू मन्थली सम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ ।