सम्झौता मिति भित्र काम नगर्ने भन्दै पूर्वाधार विकास कार्यालय रामेछापमा खाँडादेवीका जनप्रतिनिधिले नै लगाए ताला (भिडिओसहित)

| जेठ ८, २०८१ मंगलबार

A A A
A A A

८ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले नै पालिका भित्रका आयोजना अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालय रामेछापमा ताला लगाएका छन् । उनीहरूले आयोजना कार्यालय विरुद्ध नारा बाजी गर्दै उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा आएका ५ जना वडा अध्यक्षहरू सहितको मंगलबार आज ताला लगाएका हुन् । पालिकामा भइरहेका काम सम्पन्न नभएर स्थानीयले पालिकामै ताला लगाउने स्थिति भएपछि काम गर्ने जिम्मेवार कार्यालयमा ताला लगाएको दाबी पालिकाले गरेको छ । 

 

निर्माणाधीन मन्थली–गोगनपानी–गाल्वा सडक र गोगनपानी–धुलेबेशी– भोटनागी सडक कालोपत्रेको काम पटक– पटक म्याद थप गरेपछि सम्पन्न नभएको भन्दै मन्थली स्थित पूर्वाधार विकासको कार्यालयमा ताला बन्दि गरेको उपाध्यक्ष घिसिङले रामेछाप टाइम्सलाई बताइन् । ‘जहिलै म्याद मात्रै थप्ने काम नसक्ने हामीलाई जनताले काम गर्न पठाएका हुन् । काम नभएपछि ताला लगाएका हौँ ।’

 

२०७८ असार १० गते १८ महिनामा सम्पन्न गर्ने गरी मन्थली–गाल्वा सडक र २०७८ असार ३० गते १८ महिनामै सम्पन्न गर्ने गरी सित्खा–धुलेबेसी–भोटनागी सडक सम्झौता भएको थियो । तर, हाल सम्म मन्थली–गाल्वा ३५ प्रतिशत र धुलेबेसी–भोटनागी ५५ प्रतिशत मात्रै काम भएको अवस्था छ । ‘पटक–पटक म्याद थप्दा पनि ३५ प्रतिशत मात्रै काम भएको छ । असार लागि सक्यो काम कहिले काम हुन्छ ।’  

 

सम्बन्धित वडा अध्यक्षहरूले पटक–पटक ताकेता गर्दा पनि आलटाल गर्ने, जबाफदेही नहुने भएपछि आफूसहित वडा नं ५, २, ९, ८ र ६ नम्बरका वडा अध्यक्षहरू सहितको टोलीले ताला लगाएको उपाध्यक्ष घिसिङले बताइन् । 

 

ताला लगाउँदै उनीहरूले ‘पूर्वाधार विकास कार्यालय र ठेकेदारको मिलो मतो बन्द गर, सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गर, पटक–पटक म्याद थप बन्द गर’ जस्ता नारा लगाएका थिए । 

 

आफूहरूलाई जनताले काम गर्न पठाएकाले पालिका भित्र हुने विकास निर्माणमा खबरदारी गर्दा पनि नसुनेपछि बाध्य भएर ताला लगाएको उपाध्यक्ष घिसिङले रामेछाप टाइम्ससंग भनिन् । 

ताला लगाउँदै गरेको भिडिओमा पूर्वाधारका कर्मचारीले छलफल गरेर सहमतिमा जाऊँ भनेको सुनिन्छ भने जनप्रतिनिधिहरूको टोलीले छलफलबाट सहमतिमा पुगे पनि काम नहुने निश्चित र टार्ने मात्रै हुने भएकाले ताला लगाउनू विकल्प भएको जिकिर गरेको सुनिन्छ ।

 

ताला लगाउँदा पूर्वाधारका कर्मचारी भने कार्यालयमै थुनिएका थिए । मन्थली स्थिति उक्त कार्यालयको दोस्रो र तेस्रो तलामा जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की) र उपप्रमुख प्रेम सागर थापाको आवास रहेको छ ।

 

तस्बिर भिडिओ स्रोत खाँडादेवी आवाज ।