पर्यटन प्रवर्द्धन गर्न रामेछाप नगरपालिकाले संसारकै अग्लो बुद्धको मूर्ति बनाउने (भिडिओसहित)

| जेठ ९, २०८१ बुधबार

A A A
A A A

९ जेठ, रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संसारकै अग्लो बुद्धको मूर्ति निर्माण गर्ने भएको छ । त्यसको लागि नगरपालिकाले आवश्यक डिपिआर सहितको प्रस्ताव सम्बन्धित मन्त्रालयलाई र जिम्मेवार निकायमा समेत बुझाइसकेको नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले जानकारी दिए । उनले भने ‘पर्यटक प्रवर्द्धन लागि हामीले डिपिआर तयार गरेका छौँ’ बुद्धको मूर्ति बन्ने स्थान बारे प्रस्ट पार्दै नगर प्रमुख न्यौपानेले भने ‘पर्यटन प्रवर्द्धनको लागि हामीले संसारकै सबै भन्दा अग्लो बुद्धको मूर्ति बनाउँछौँ ।’

 

बुद्ध मूर्ति बनेपछि यो नगरभित्र छिमेकी देश चीन, जापान, कोरिया लगायतका बुद्ध धर्म मान्ने आन्तरिक तथा बाह्य मुलुकबाट पर्यटक भित्रिने नगर प्रमुख न्यौपानेले दाबी गरे । नगरभित्रका ऐतिहासिक तथा पुराना मठ मन्दिरहरूको संरक्षण र संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनको लागि पूर्वाधार निर्माण गरिने नगर प्रमुख न्यौपानेको भनाई छ । 

 

हाल यो नगरपालिका स्थित डान्सिङ डाँडामा एसियाकै अग्लो गणेशको मूर्ति रहेको दाबी गरिदै आइएको छ ।  

बुधवार आगामी बजेटमाथि पत्रकारहरूबाट राय सुझाव लिने कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले यस्तो बताएका हुन् । निर्वाचित भएको दुई वर्षको अवधिमा उल्लेख्य काम गर्न बजेटको कारण नसकेको स्वीकार गर्दै न्यौपानेले भने ‘अहिले सम्मको अनुभवबाट आगामी बजेटमा टुक्रे बजेट आउँदैन ।’

 

नगरले आगामी बजेटमा पर्यटन प्रवर्द्धनमा जोड् दिएको उनले बताएका हुन् । त्यस्तै आगामी वर्षबाट नगरमा खानेपानीको समस्या अन्त्य हुने जिकिर गरे ।

 

सेलेघाट–रामेछाप लगायत नगरमा २० किलो मिटर सडक आगामी वर्ष कालो पत्रे गरेरै छाड्ने जिकिर नगर प्रमुख न्यौपानेको थियो । 

 

त्यस्तै कृषि उत्पादन बढाउन सिँचाइ, शैक्षिक सुधारको लागि वडा नं १ गोठगाउँबाट ‘मेघा’ विद्यालय सञ्चालन, वन डढेलो रोकथामको लागि दीर्घकालीन योजना समेटिएर आगामी बजेट आउने नगर प्रमुख न्यौपानेले बताएका हुन् । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार