पूर्वाधार कार्यालयमा ताला लगाएपछि ठेकेदारसहित बसेको संयुक्त बैठकले असार र असोज भित्र काम सक्ने सहमति गर्यो

| जेठ ९, २०८१ बुधबार

मंगलबार जनप्रतिनिधिले नारा बाजी सहित पूर्वाधार कार्यालयमा लगाएको ताला । तस्बिर फाइल ।
A A A
A A A

९ जेठ, रामेछाप । ठेकेदार र पूर्वाधार विकास कार्यालयको मिलोमत्तोमा पटक–पटक म्याद मात्रै थप्ने तर काम नगर्ने भन्दै ताला बन्दिमै उत्रिएका खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र ठेकेदार कम्पनी बिच निर्माणाधीन दुई सडक आउँदो असोज मसान्त सम्म काम सम्पन्न गर्ने सहमति भएको छ । 

 

मंगलबार निर्माणाधीन मन्थली–गोगनपानी–गाल्वा सडक र गोगनपानी–धुलेबेशी– भोटनागी सडक कालोपत्रेको काम म्याद थप गर्दै सम्पन्न गर्न आलटाल हुँदै आएपछि खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा ५ वटा वडाका अध्यक्षहरूसहितले पूर्वाधार कार्यालयमा झण्डै दुई घण्टा ताला लगाएका थिए । 

 

बुधवार खाँडादेवी गाउँपालिकामा उपाध्यक्ष घिसिङ, वडाअध्यक्षहरु, पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र कुमार बज्राचार्य र ठेकेदारहरू सहितको संयुक्त बैठकले मन्थली गाल्वा सडक यही असार भित्र र गोगनपानी–धुलेबेशी–भोटनागी सडक आउँदो असोज मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरिएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरव केसीले रामेछाप टाइम्सलाई बताए ।

 

‘सम्पन्न नहुँदा सम्म निर्माणाधीन कम्पनीहरूले निर्माण सामाग्री अन्यत्र लान नपाउने र काम तोकेको मितिमा सक्ने निर्णय गरिएको छ ।’

 

२०७८ असार १० गते १८ महिनामा सम्पन्न गर्ने गरी मन्थली–गाल्वा सडक र सोही वर्षको असार ३० गते १८ महिनामै सम्पन्न गर्ने गरी सित्खा–धुलेबेसी–भोटनागी सडक सम्झौता भएको थियो । तर, हाल सम्म मन्थली–गाल्वा ३५ प्रतिशत र धुलेबेसी–भोटनागी ५५ प्रतिशत मात्रै काम भएको अवस्था छ । 

 

म्याद थप्ने तर काम नगर्ने भन्दै स्थानीयहरूले पालिकाको कार्यालयमा ताला लगाउने भन्दै चेतावनी दिएपछि जनप्रतिनिधिले पूर्वाधारको कार्यालयमा मंगलबार जिल्लाको इतिहासमै पहिलो पटक सरकारी कार्यालयमा ताला लगाएका थिए । 

 

पूर्वाधार विकास कार्यालयका प्रमुख बज्राचार्यले ताला लगाउनु ठिकै भए पनि पूर्व जानकारी बिना एक्कासि ताला लगाउन आउँदा कार्यालयको काम प्रभावित भएको बत्ताउँछन् । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार