खाँडादेवी गाउँपालिकाले दुई वटा ड्रोन किन्दै, चार ठाउँमा फ्री वाइफाई तत्काल जोड्ने

| जेठ १०, २०८१ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१० जेठ, रामेछाप । प्रविधि मैत्री गाउँपालिका बनाउने उद्देश्य अनुसार विभिन्न प्रविधिलाई पछ्याउँदै आएको खाँडादेवी गाउँपालिकाले तत्काल दुई वटा उच्च प्रविधिको ड्रोन खरिद गर्ने भएको छ । साथै पालिका भित्र मानिसहरूको चहल-पहल भइरहने प्रमुख चार स्थानमा निःशुल्क वाइफाइ (फ्री वाइफाई) जोड्न तयारी समेत तीव्र रूपमा भइरहेको जनाएको हो । 

 

ड्रोन खरिद र फ्री वाइफाई जडानको लागि आन्तरिक तयारी तीव्र रूपमा भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले रामेछाप टाइम्सलाई बताएका हुन् । ‘यो वर्ष तत्कालै दुई वटा ड्रोन किन्दै छौँ । त्यस्तै खाँडादेवी मन्दिर, सित्खा र गोगनपानी बजार, माडी मुहानमा फ्री वाइफाइ तत्काल राख्छौँ ।’

 

निर्वाचित भएर आएको वर्ष देखि नै गाउँपालिकालाई प्रविधि मैत्री पालिका बनाउने योजना रहेको  बारम्बार दोहोर्‍याउँदै आएका पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको भिजन अनुसार वडा-वडामा ‘स्मार्ट चौतारो’ बनाएको यो पालिकाले केही दिन भित्रै ड्रोन किन्न र फ्री वाइफाइ जडान गर्ने काम अन्तिम रूपमा भइरहेको प्रशासकीय अधिकृत केसीले बताएका हुन् । 

 

यस अगाडि निमार्ण गरिएको ‘स्मार्ट चौतारो’मा पनि फिल्टर गरिएको पिउने पानी, निःशुल्क टेलिफोन, फ्री वाइफइ, ट्याब्लेट लगायतका प्रविधि राखेको थियो । ती प्रविधिहरूको उद्देश्य अनुरूपको सदुपयोग हुन नसकेको स्थानीयहरू बत्ताउँछन् । भने, प्रशासकीय अधिकृत केसीले पनि केही स्मार्ट चौतारो संचालनमै नरहेको समेत भेटिएको बताए । 

 

यस अगाडि पालिका अध्यक्ष श्रेष्ठले ड्रोनबाटै घर-घरमा नागरिकहरुको स्वास्थ्य परीक्षण, सामान्य औषधि वितरण, कृषि बालिको संरक्षण, बिषाधि छर्ने सम्मको योजना रहेको बताउँदै आएका थिए । तर, हाल खरिद गर्न लागेको ड्रोन के प्रयोजनको लागि खरिद गर्न लागेको भन्ने थप खुल्न बाँकी छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार