खाँडादेवी गाउँपालिकाको बजेट खर्च निराशाजनकः १० महिनामा जम्मा ३१ प्रतिशत बजेट खर्च (भिडिओसहित)

आर्थिक वर्ष २०८१/०८२ मा चालु आर्थिक वर्षको भन्दा केही घटेर बजेट ल्याउने

| जेठ १०, २०८१ बिहिबार

A A A
A A A

१० जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाको हाल सम्मको बजेट खर्च निराशाजनक देखिएको छ । समग्रमा वैशाख मसान्त सम्म पुँजीगत तर्फ २२ प्रतिशत, चालु तर्फ ४० प्रतिशत हाराहारी गरी कूल ३१ प्रतिशत बजेट मात्रै खर्च भएको हो । यो पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ७० करोडको बजेट ल्याएको थियो ।

 

आर्थिक वर्षको सुरु देखि नै लेखाका कर्मचारी विहीन यो पालिकामा बजेट खर्च निराशाजनक हुँदा सम्पन्न भएका कतिपय योजनाको भुक्तानी समेत हुन सकेको छैन । गत आ.व.कै भुक्तानी समेत नहुँदा ठुलो योजनाको काम समेत अन्योलमा परेका थिए । 

 

मंगलबार आफ्नै कार्य कक्षमा पत्रकारहरुसंग कुराकानी गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले चालु आर्थिक वर्षको ६० देखि ७० प्रतिशत योजना सम्पन्न भए पनि बजेट भुक्तानी हुन नसक्दा बजेट खर्च हुन नसकेको हो ।

 

सुनापति गाउँपालिकाका लेखका कर्मचारीले नै यो पालिकामा पनि समय मिलाएर सहयोग गर्दै आएका छन् । उनले पनि केही महिना यता पूरा समय दिन नसक्दा भुक्तानी रोकिएको प्रशासकीय अधिकृत केसीको भनाई छ । ‘हामीले यसअगाडि माथिल्ला निकायमा कर्मचारी बारम्बार माग गर्‍यौँ । अब यो अन्तिममा त आउने सम्भावना देखिँदैन ।’

 

वडा स्तरबाट सम्झौता भएका ७० प्रतिशत योजना सम्पन्न भएर भुक्तानीको लागि अगाडि बढे पनि कर्मचारी अभावकै कारण भुक्तानी हुन नसकेको दाबी पालिकाको छ । चालु आर्थिक वर्षको अन्तिम समयमा आइसकेको अवस्थामा सम्पन्न भएका योजनाको भुक्तानी कसरी गर्न भन्ने विषय पालिकाको टाउको दुखाइको विषय बनेको प्रशासकीय अधिकृत केसी बत्ताउँछन् । 

चालु आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्ष भन्दै आएको यो पालिकाले आगामी वर्षलाई पनि निरन्तरता दिने योजना रहेको बताए । ‘शिक्षामा गरेको लगानी तत्काल नतिजा आउँदैन । तर, हामी यसलाई निरन्तर दिन्छौँ ।’

 

शैक्षिक सुधारमा ‘डेबोडर्स’ अर्थात् विद्यालयमै खाना, खाजा सम्मको व्यवस्था गरेर पठनपाठन गर्दै आएको यो पालिकाले आगामी वर्ष विद्यालय ‘मर्ज’, थोरै विद्यार्थी भएका विद्यालयमा गाडीको व्यवस्था गर्ने लगायतका योजना सुनाए । 

 

चालु आर्थिक वर्षमा भोगेका समस्याहरूलाई ध्यानमा राखेकाले आगामी वर्ष जनताको अपेक्षा अनुसार काम गर्ने गरी बजेट निर्माणको काममा पालिका लागि सकेको प्रमुख प्रशासकीय अधिकृत केसीले प्रस्ट पारे । 

 

आगामी आर्थिक वर्ष २०८१/०८२ मा चालु आर्थिक वर्षको भन्दा केही घटेर बजेट ल्याउने उनको भनाई छ । 

 

बाँकी भिडिओमा हेर्नुहोस् प्रमुख प्रशासकीय अधिकृत केसीसंग गरिएको कुराकानी .....

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार