भोलिदेखि रामेछापमा ३ चरणमा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने, कुन पालिकामा कहिले ? (सूचीसहित)

| जेठ १२, २०८१ शनिबार

A A A
A A A

१२ जेठ, रामेछाप । भोलि आइतबार देखि रामेछापका पाँच हजार भन्दा धेरै बालबालिकालाई तीन चरणमा पोलियो विरुद्धको (आईपिभी) खोप लगाइने भएको छ । त्यसको लागि गठित एक समितिले व्यवस्थापन सहित तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । 

 

शुक्रवार जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की, सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेसहितको उपस्थितिमा तयारी छलफल गर्दै यो अभियानलाई सफल उपलब्धि मूलक बनाउँदै तीन चरणमा खोप लगाउने निर्णय समेत गरेको छ । 

 

पहिलो चरणमा भोलि आइतबार देखि रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा १५ गते सम्म अभियान चल्ने छ ।  त्यस्तै दोस्रो चरणमा बुधवारदेखि शुक्रवार सम्म उमाकुण्ड, गोकुलगंगा, दोरम्बा शैलुङ र सुनापती गाउँपालिका सम्पूर्ण वडाहरूमा लगाइने छ । 

 

अन्तिम तथा तेस्रो चरणमा मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा यही जेठको २१ देखि २३ गते सम्म संचलान हुने छ । 

 

खोप अभियानको तयारी बारेमा जानकारी गराउँदै जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख एवं जिल्ला खोप कार्यक्रमका फोकल पर्सन दीपेन्द्र श्रेष्ठले पाँच हजार पाँच सय १५ जना बालबालिकालाई खोप लगाइने जानकारी गराए । 

 

उनका अनुसार दुई नगरपालिका र ६ वटा गाउँपालिका भित्रका २०७३ साल वैशाख देखि २०७५ साल असोज मसान्त सम्म जन्मिएका सम्पूर्ण बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको (आई.पि.भी) खोप लगाउने निर्णय गरिएको हो । 

 

त्यसको लागि विद्यालयहरूमा खोप केन्द्र सञ्चालन गरिने छ । जिल्ला खोप कार्यक्रमका फोकल पर्सन श्रेष्ठका मन्थली नगरपालिकामा एक हजार ६२०, रामेछाप नगरपालिकामा ६९१ बालबालिकालाई यो खोप दिने छ । 

 

त्यस्तै जिल्लाकै उत्तरी क्षेत्र स्थित उमाकुण्ड गाउँपालिकाका ५६६ र गोकुलगंगा गाउँपालिकाका ६५५ जना, लिखु तामाकोशी गाउँपालिकाका ४ सय ७७, खाँडादेवी गाउँपालिकाका ५११ जना बालबालिकालाई यो खोप लगाइने छ । 

 

त्यस्तै दोरम्बा शैलुङ गाउँपालिकाका ५०४ र सुनापति गाउँपालिकाका ४९१ जना बालबालिकालाई खोप लगाउने तयारी रहेको जानकारी गराए ।  जिल्लाको २०४ वटा खोप केन्द्र र २०४ जना स्वास्थ्यकर्मीहरूबाट तीन सय भन्दा बढी स्वास्थ्य स्वयंसेवक खटाएर खोप लगाइने तयारी उनले बताए । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार