अरनिको र हिमाल तराईको अस्वस्थ प्रतिस्पर्धाले मारमा परेका रामेछापका यात्रुको माग सम्बोधन, नगरपालिकाले गरायो यस्तो निर्णय ?

| जेठ १४, २०८१ सोमबार

A A A
A A A

१४ जेठ, रामेछाप । रामेछाप नगरपालिकाबाट यात्रु बोक्दै आएका पूर्व अरनिको यातायात र गणेश हिमाल तराई यातायातको अस्वस्थ प्रतिस्पर्धाको कारणले सास्ती खेप्नु परेपछि नगरपालिकाले यातायात समितिसंग छलफल गरेर समाधान निकालेको छ । 

 

आइतबार नगरपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा बसेको दुवै यातायात समितिका प्रतिनिधिसहित बैठकले नगरवासीको माग अनुसार सञ्चालन गर्ने गरी सवारी सञ्चालन गर्ने सहमति गरेको नगरका प्रवक्ता समीर कार्कीले जानकारी दिए । 

 

उनका अनुसार अरनिको र गणेश हिमाल यातायातको प्रतिस्पर्धाले स्थानीय यात्रुहरूको यात्रुमा अवरोध भएको पाइएकाले सरल र स्वस्थ ढंगबाट सञ्चालन गर्ने ४ बुँदे हल निकालेको हो । 

 

जसअनुसार अब पूर्व अरनिको यातायात प्रा.लि.बाट सञ्चालित बस रामपुर–रामेछाप–काठमाडौँ रुटमा बिहान ५ ः ३० बजे रामपुरबाट छुट्ने र बस छुटेको छिटोमा १ घण्टामा रामेछाप बजार आइपुग्नु पर्ने छ । 

 

त्यस्तै रामेछाप–चामबोट–ओख्रेनी–बसेरी रुटमा बिहान ६ ः ०० बजे बसेरीबाट छुट्ने निर्णय गरिएको छ । 

 

त्यस्तै काठमाडौँ–मन्थली रामेछाप बजार– च्याँउकेठाँटी–गोठगाँउ रुटमा पूर्ववत् रूपमा सञ्चालन हुनु पर्ने निर्णय गरिएको वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता कार्कीले एक पत्र जारी गर्दै जानकारी गराए । 

 

 

त्यस्तै गणेश हिमाल तराई प्रा.लि.बाट संञ्चालित बसले अब रामपुर–रामेछाप–काठमाडौँ रुटमा बिहान ६ ः ३० बजे रामपुरबाट छुट्ने र बस छुटेको छिटोमा १ घण्टामै रामेछाप बजार आइपुग्ने छ । 

 

 

च्यास्कु–रामेछाप–मन्थली रुटमा बिहान ८ ः ०० बजे छुट्ने र सोही रुटमा दिउँसो ३ ः ०० बजे रामेछाप बजारबाट फर्कनु पर्ने छ । काठमाडौँ–सेलेघाट– रामेछाप–घोराखोरी रुटमा हाल सञ्चालन भएकै समयमा सञ्चालन हुने प्रवक्ता कार्कीले जानकार दिए । 

 

दुई यातायात सेवा समितिको चर्को अस्वस्थ प्रतिस्पर्धाको मारमा परेपछि केही दिन अगाडि रामेछाप बजारमा आएर चक्का जाम गराएका स्थानीयहरूले आफूहरूलाई पायक पर्ने गरी सवारी सञ्चालन हुनु पर्ने माग गरेका थिए । 

 

पटक–पटक ध्यानाकर्षण गराउँदै आएका स्थानीयहरूले लिखु तामाकोशी गाउँपालिकाको धोबी बजारबाट सालु–रामेछाप बजार हुँदै मन्थली काठमाडौँ सम्म गुड्ने गरी बस सञ्चालन गर्न पनि पूर्व अरनिको यातायात प्रा.लि.लाई आग्रह गरेको प्रवक्ता कार्कीले जानकारी गराएका हुन् । 

 

जनप्रतिनिधि, स्थानीय र यातायात समितिका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सोमबार देखि नै लागू गरिएको वडा अध्यक्ष कार्कीको भनाई छ । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार