रामेछापका आठ स्थानीय तहको बेरुजु क्रमश घट्दैः सबै कम दोरम्बा शैलुङ्को, रामेछाप दोस्रो र सुनापति तेस्रो, बढी हुनेमा खाँडादेवी पहिलो र उमाकुण्ड दोस्रो

विगतको वर्षको तुलनामा जिल्लाका सबै स्थानीय तहको बेरुजु रकम उल्लेख्य मात्रमा सुधार देखिएको छ

| जेठ १४, २०८१ सोमबार

A A A
A A A

१४ जेठ, रामेछाप । रामेछापका ८ स्थानीय तहको गत आर्थिक वर्ष २०७९/०८० मा २१ करोड भन्दा बढी बेरुजु देखिएको छ । कानुन र प्रक्रिया मिचेर राज्य कोषबाट खर्च भएको बेरुजु रकम पछिल्लो समय रामेछापसहित देशभरि कै स्थानीय तहमा बढ्दो छ । यद्दयपी सार्वजनिक तथ्याङ्क अनुसार यो वर्ष रामेछापका स्थानीय तहको बेरुजु रकम घटेको पाइएको छ । ८ स्थानीय तहको २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम बेरुजू देखिएको महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

 

महालेखा परीक्षक एवं प्रवक्ता तोयम रायकाले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाको २१ करोड ६२ लाख १९ हजार रुपैयाँ अर्थात् १.७२ प्रतिशत बेरुजू देखिएको उल्लेख छ ।  सार्वजनिक प्रतिवेदन अनुसार जिल्लाको ८ स्थानीय तह मध्ये आर्थिक वर्ष २०८१ मा सबै भन्दा बढी ४.६७ प्रतिशत खाँडादेवी गाउँपालिकाको बेरुजु देखिएको छ । 

 

त्यस्तै सबै भन्दा कम ०‍.१५ प्रतिशत दोरम्बा शैलुङ्ग गाउँपालिकाको सबै बेरुजू देखिएको छ । चालु वर्षमा जिल्लाका आठ वटै स्थानीय तहको बेरुजु रकम विगतका वर्षहरूको तुलनामा घट्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा ३७ करोड ७९ लाख ७ हजार रहेको थियो ।

 

गत वर्ष पनि जिल्लाकै सबै भन्दा धेरै बेरुजु आएको खाँडादेवी गाउँपालिकामा यो वर्ष पनि बढी आएको छ । तर, विगतको तुलनामा केही रकम भने घटेको छ । त्यस्तै दोरम्ब शैलुङ् गाउँपालिकापछि रामेछाप नगरपालिकाको बेरुजु कम पाइएको छ । रामेछाप नगरको ०.२२ प्रतिशत मात्रै बेरुजु रहेको तथ्याङ्कमा उल्लेख छ । 

 

त्यस्तै सुनापति गाउँपालिकाको ०.२७ प्रतिशत मात्रै बेरुजु रकम हुँदै जिल्लाको सबै भन्दा कम बेरुजु हुने तेस्रो स्थानमा छ ।  मन्थली नगरपालिकाको ०.८४ प्रतिशत सहित चौथो, लिखु तामाकोशी गाउँपालिका १.१२ प्रतिशत सहित पाँचौँ स्थानमा देखिएको तथ्याङ्कमा उल्लेख छ । 

 

गोकुलगंगा गाउँपालिकाको भने उल्लेखित तथ्याङ्कमा १.४१ प्रतिशत देखिन्छ । माथि उल्लेखित पालिका भन्दा उमाकुण्ड गाउँपालिकाको बेरुजु रकम बढी देखिन्छ । उमाकुण्ड गाउँपालिकाको ३.७७ प्रतिशत रहेको छ । 

 

महालेखाको प्रतिवेदन अनुसार जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बेरुजू रकम अघिल्लो वर्षको तुलनामा यो वर्ष भने घटेको हो । गत वर्षको प्रतिवेदन अनुसार २ अर्ब २४ करोड १३ लाख २ हजारको लेखा परीक्षण हुँदा ५ करोड २० लाख ५८ हजार अर्थात् २.३२ प्रतिशत बेरुजू आएको थियो । यो वर्षको प्रतिवेदन अनुसार २ अर्ब २५ करोड १३ लाख १८ हजारको लेखा परीक्षण हुँदा १ करोड ८८ लाख ४० हजार ०.८४ प्रतिशत मात्रै बेरुजु देखिएको छ । 

 

त्यस्तै जिल्लाको पुरानो सदरमुकाम रहेको रामेछाप नगरपालिकाको पनि बेरुजू अङ्कमा सुधार देखिन्छ । सार्वजनिक भएको लेखा परीक्षणको प्रतिवेदन अनुसार १ अर्ब ८८ करोड ८९ लाख ६५ हजारको लेखा परीक्षणमा ४० लाख ७७ हजार ०‍.२२ प्रतिशत मात्रै बेरुजु देखिएको छ । यो नगरको गत वर्षको प्रतिवेदनमा २ अर्ब ३५ करोड २९ लाख ७ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ७२ लाख ८३ हजार रुपैयाँ अर्थात् ०.३१ प्रतिशत बेरुजु देखिएको थियो । 

 

यो वर्ष सबै भन्दा कम बेरुजु देखिएको दोरम्बा शैलुङ् गाउँपालिकाको लेखा परीक्षणको प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ३२ करोड ४ लाख ३० हजार रुपैयाँको लेखा परीक्षण हुँदा २० खाल रुपैयाँ मात्रै बेरुजू थियो । जुन रकम लेखा परीक्षण गरेको जम्मा रकमको ०.१५ प्रतिशत हो । अघिल्लो वर्षको प्रतिवेदनमा १ अर्ब २२ करोड ४४ लख ७५ हजारको लेखापरिक्षण गर्दा ४ करोड ६६ लख ७८ हजार अर्थात् ३.८१ प्रतिशत बेरुजू आएको थियो । 

 

त्यस्तै गोकुलगंगा गाउँपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखाको ६० औँ प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको १ अर्ब ३५ करोड ९५ लाख ८८ हजारको लेखा परीक्षण गर्दा ५ करोड ६९ लाख ३१ हजार अर्थात् ४.१९ प्रतिशत बेरुजू देखिएको थियो । तर, यो वर्ष महालेखापरीक्षकको ६१ औँ प्रतिवेदन अनुसार १ अर्ब ३९ करोड ७५ लाख ८८ हजारको लेखा परीक्षण गर्दा १ करोड ९६ लाख ६३ हजार १.४१ प्रतिशत मात्रै बेरुजु देखिएको छ । 

 

लिखु तामाकोशी गाउँपालिकाको पनि अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बेरुजू अङ्कमा केही सुधार आएर बेरुजू रकम घटेको छ । महालेखापरीक्षक ६१ औँ प्रतिवेदन अनुसार यो गाउँपालिकाको १ अर्ब ५१ करोड ८४ लाख ९१ हजारको लेखा परीक्षण हुँदा १ करोड ७० लाख ४४ हजार १.१२ प्रतिशत बेरुजू देखिएको छ । अघिल्लो वर्षको प्रतिवेदनमा लिखु तामाकोशी गाउँपालिकाको ४ करोड ९३ लाख ८ हजार रुपैयाँ अर्थात् ४.०४ प्रतिशत बेरुजू आएको आएको थियो । 

 

त्यस्तै गत वर्ष उल्लेख्य रूपमा बेरुजु घटाउन सफल सुनापति सुनापति गाउँपालिकाको बेरुजू रकम हाल करोडबाट लाखमा झरेको छ । हाल ३४ लाख ५८ हजार अर्थात् ०.२७ प्रतिशत मात्रै बेरुजु देखिएको यो पालिकाको देखिन्छ । अघिल्लो वर्ष भने सुनापति गाउँपालिकाको बेरुजु रकम ४ करोड ७९ लाख ४५ हजार अर्थात् ३ दशमलव ९४ प्रतिशत रहेको थियो ।  

 

८ स्थानीय तह मध्यकै सबै भन्दा धेरै बेरुजु देखिने खाँडादेवी गाउँपालिका यो वर्ष १ अर्ब ४९ करोड ७२ लाख ८ हजारको लेखा परीक्षण हुँदा ९ करोड ९७ लाख ९० हजार अर्थात् ६‌.६७ प्रतिशत बेरुजु देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड ८५ लाख ३ हजारको लेखा परीक्षण हुँदा ९ करोड २९ लाख १३ अर्थात् ६‌.२ प्रतिशत बेरुजू देखिएको थियो । यद्दयपी यो पालिकाको पनि गत वर्षको तुलनामा बेरुजु घटेको देखिन्छ । 

 

यो वर्षको सार्वजनिक  प्रतिवेदन अनुसार ५ करोड १३ लाख ४७ हजार अर्थात् ३.७७ प्रतिशत बेरुजु देखिएको उमाकुण्ड गाउँपालिका आर्थिक वर्ष २०७९/०८० मा को १ अर्ब ३६ करोड १३ लाख ४४ हजार रकमको लेखा परीक्षण भएको थियो ।  ६० औँ प्रतिवेदनमा १ अर्ब २५ करोड १५ लाख ६३ हजारको खेला परीक्षण हुँदा २ करोड ४७ लाख ९१ हजार अर्थात् १.९८ प्रतिशत बेरुजू देखिएको थियो । यो पालिकाले विगतका वर्ष भन्दा यो वर्ष बेरुजु केही घटाएको छ । 

 

यो हेर्नुहोस् सूचीमा पूर्ण विवरण ....

स्रोत-महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८१

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार