रामेछाप र दोलखाका किसानहरूलाई परियोजनाले दियो मन्थलीमा ‘मेसिनरी औजार उपकरण संचालन तथा मर्मत तालिम’

| जेठ १८, २०८१ शुक्रबार

A A A
A A A

१८ जेठ, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप र दोलखाका किसानहरूलाई ‘मेसिनरी औजार उपकरण संचालन तथा मर्मत सम्भार तालिम’ सुरु गरेको छ । दुर्घटना न्यूनीकरण गर्न तालिम कोशे ढुङ्गा साबित हुने आयोजकको दाबी छ । 

 

बिहीबार रामेछापको मन्थलीमा जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख प्रेम सागर थापा, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगर र पत्रकार सञ्चारकर्मीहरू सहितको उपस्थितिमा औजार उपकरण मर्मत तालिम प्रारम्भ गरिएको हो । 

 

भोलि शनिवार सम्म चल्ने उक्त तालिममा बारी एवं खेत जोत्ने ट्याक्टर, सामान जोख्ने किलो, पिठो पिस्ने, कुट्ने मिलहरू मर्मत गर्न सिकाउने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख थिरलाल गैरेले बताए । यस अगाडि कार्यालयले ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा किसानहरूलाई विभिन्न प्रविधि, उपकरण, औजार, मेसिनहरू हस्तान्तरण गर्दै आएको थियो । 

 

अनुदानमा बाँडेका कृषि औजारहरू अहिले अधिकांश किसानको घरमा भए पनि त्यसलाई संचालन गर्न नजानेर दुर्घटना निम्तिएको, एक पटक चलाएर बिग्रिएपछि त्यसको पुनः प्रयोग नगरेको लगायतका समस्या व्यापक पाइएपछि मर्मत तालिम अति आवश्यकता महसुस गरेर संचालन गरिएको प्रमुख गैरेले प्रस्ट पारे । ‘अब तपाईँहरूलाई दुर्घटनामा पर्न नपरोस्, मेसिन चलाउन नजानेर दुर्घटना ननिम्तियोस्, उपकरण प्रयोग गर्न दक्ष हुन् भनेर तालिम राखेका हौँ’, दुई जिल्लाका सहभागीहरूलाई ध्यान दिएर सिक्न आग्रह गर्दै प्रमुख गैरेले थपे ‘यो तालिम लिएपछि तपाईँहरू दुर्घटनामा पर्न पर्दैन र मेसिन काम गर्दा गर्दै बिग्रियो भने टाउकोमा हात राखेर बस्नु पनि पर्दैन ।’

दुई जिल्लाका किवी, आलु, जुनार र बाख्रा जोन क्षेत्रका किसानहरूलाई प्रविधिमा दक्ष बनाउन तालिमले विशेष भूमिका खेल्ने भन्दै किसान एवं सहभागीहरू पनि उत्साहित देखिएका छन् । 

 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगर, जिल्ला समन्वय उपप्रमुख प्रेम सागर थापा, पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, महासंघ जिल्ला अध्यक्ष अध्यक्ष बद्री नयाँघरे लगायतले परियोजनाले किसानहरूलाई बिउ-बिजन, औषधि, विषादी र यन्त्र–उपकरण बाँड्ने सहित सबै काम गरेर दुवै जिल्लाको उत्पादनलाई बढाउन भूमिका खेलेको भन्दै प्रशंसा गरे । 

 

विगतमा अनुदानमा यन्त्र बाँडेको र अहिले मर्मतको तालिम दिएर किसानहरूलाई प्रविधिसँग नजिक एवं जोड्न लागेकोमा खुसी व्यक्त गरे । 

 

पत्रकारद्वयले विगतमा आफूहरुले बारीमा जोत्दा-जोत्दै किसान दुर्घटनामा परेको समाचार लेख्नु पर्थ्यो भन्दै तालिम पछि त्यो परिस्थितिको अन्त्य हुने विश्वास व्यक्त गरे । 

 

परियोजनासँग जोडिएका किसानहरूलाई प्रविधि र उनीहरूको आवश्यकताको आधारमा परियोजनाले प्राविधिक, सिपमूलक तालिम, औजार उपकरण बाँड्ने, उन्नत जातका बोका, पाठा-पाठी वितरण गर्ने,  फिल्डै गएर रोपिएका जुनार, आलु र किवीको सम्पूर्ण परिस्थितिको मूल्याङ्कन गर्ने लगायत किसानसँग जोडिएर काम गर्दै आएको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार