मन्थली अस्पताल बन्यो बागमती प्रदेश स्तरीय अस्पताल
१८ जेठ, रामेछाप । मन्थली नगरपालिकाद्वार सञ्चालित जिल्लाकै सदरमुकाम समेत रहेको मन्थली–१ स्थित मन्थली अस्पताल प्रादेशिक अस्पतालको रूपमा स्तर उन्नति भएको छ ।
शुक्रवार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्थली अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तर उन्नति भएको घोषणा गरे । मन्थली अस्पताल सहितका अस्पतालको नाम लिँदै मुख्यमन्त्री जमकट्टेलले भने ‘हामी यो वर्ष स्वास्थ्यमा ५ वटा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा थप गर्दैछौं ।’
रामेछापको मन्थली नगरपालिकासहित गोकुलगंगा, लिखु तामाकोशी, उमाकुण्ड, खाँडादेवी गाउँपालिकासहित छिमेकी जिल्लाहरू दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका बिरामीले समेत उपचार सेवा पाउने यो अस्पताल स्तर उन्नति भयसँगै यहाँका सेवाग्राहीहरूलाई थप टेवा पुग्ने भएको छ ।
जिल्लामा यस अगाडि पनि रामेछाप नगरपालिका वडा नं ८ रामेछाप डाँडामा रामेछाप अस्पताल प्रादेशिक अस्पतालको रूपमा सञ्चालित रहेको छ । मन्थली अस्पताल पनि प्रादेशिक अस्पतालको रूपमा स्तर उन्नति भएपछि जिल्लामा अब दुई वटा प्रादेशिक अस्पताल भएका छन् ।
मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट सञ्चालन गरिरहेको छ ।
दैनिक सेवाग्राहीहरूले खचाखच भरिने यो अस्पतालको हाल भवन निर्माण भइरहेको छ । भने, आउँदो भदौ भित्र निर्माण कम्पनीले काम सक्ने गरी काम भइरहेको बताइएको छ ।