मन्थलीमा महिलाहरूको कपडा डिजाइन सम्बन्धि ‘एडभान्स’ लेबलको तालिम सुरु, कसले के भने ? (भिडिओसहित)

| जेठ २७, २०८१ आइतबार

A A A
A A A

२७ जेठ, रामेछाप । मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको सहभागितामा एडभान्स लेबलको तालिम सुरु भएको हो । 

 

आइतबार मन्थली नगरपालिकाकी उप-प्रमुख ईश्वरी बस्नेत, वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), सिलाई कटाई व्यवसायी संघका केन्द्रीय उप-महासचिव सरोज कटुवाल, रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदी, उद्योग वाणिज्य कार्यालय रामेछापकी यमुना श्रेष्ठ र आयोजक समेत रहेका संघका अध्यक्ष ज्ञानबहादुर सुनदाससहितको उपस्थितिमा तालिम प्रारम्भ गरिएको हो ।

 

तालिम उद्घाटन गर्दै उप-प्रमुख बस्नेतले सहभागीहरूलाई नियमभित्र बसेर प्रशिक्षक इन्जु घलेबाट जतिसक्दो धेरै सिप सिक्न आग्रह गरिन् । महिलाहरू घरायसी विभिन्न जिम्मेवारीमा रहनु पर्ने बाध्यता रहेको सुनाउँदै ती समस्याहरूलाई तालिम अवधिभर पर राखेर सिपमा पोख्त हुन जोड् दिइन् । 

 

नगरपालिकाले महिलासहित नगर भित्रका सिप सिक्न चाहने जो कोहीलाई पनि तालिम दिई रहेको सुनाउँदै उपप्रमुख बस्नेतले भनिन् ‘यो तालिम सफल भयो भने अरू तालिमको पनि अवसर नगरले दिन्छ ।’

 

पछिल्लो समय महिलाहरूका कपडाहरू विभिन्न डिजाइन–डिजाइनका हुने भन्दै ती डिजाइनहरूलाई तयार पार्न सक्षम बन्न सहभागीहरूलाई आग्रह गरिन् । सिप मूलक कार्यक्रमहरू सञ्चालन गरेर महिलाहरू पनि आर्थिक रूपमा सक्षम भएमा घरायसी विभिन्न खाले समस्या समेत समाधान हुने उनको भनाई  थियो । 

त्यस्तै मन्थली नगरपालिका–१ का अध्यक्ष रामहरिले मन्थली नगरपालिकालाई समृद्धिको बाटोमा अगाडि बढाएको बताए । विभिन्न तालिम दिएर यहाँका जनतालाई सक्षम र आत्मनिर्भरको बाटो तर्फ अगाडि बढाउन आफूहरू लागेको बताउँदै पौडेलले भने ‘अहिले मन्थलीमा टपरी बनाउने, फ्रिज बनाउने, सिलाई कटाइका तालिम भइरहेका छन्’ व्यापार व्यवसायमा सक्रियहरूलाई दक्ष बनाउन केही महिना यता कफी बारिष्ठ, कोट  डिजाइनिङ लगायतका तालिम दिई रहेका वडा अध्यक्ष पौडेलले फेरी पनि ‘महिला पञ्चेबाजा, कुकिङ लगायतका तालिम छिट्टै सञ्चालन गर्दैछौं’ भने ।

 

उनले नयाँलाई तालिम दिएर व्यवहारिक प्रयोगमा आउनेमा आशङ्का गर्दै काम गरिरहेकाहरूलाई नै तालिम दिएर दक्ष र प्रोत्साहित गर्न वडा लागि परेको प्रस्ट पारे ।  

 

वडा अध्यक्ष पौडेलले महिलाहरू विभिन्न डिजाइनका कपडा लगाउन सोखिने हुने उल्लेख गर्दै ‘एक पटक टिकटमा लगाएको कपडा अर्कोमा लगाउँदैनन् । त्यसैले नयाँ-नयाँ डिजाइन बनाउन लाग्नुहोस् । त्यसमा सबैको आम्दानी जोडिन्छ’ भने ।

सिलाई कटाइमा सिटिभिटीको तेस्रो लेबलको प्रमाणपत्रबाट आफू प्रमाणित भएको सुनाउँदै सिलाई कटाइ व्यवसायी महासंघका केन्द्रीय उप-महासचिव कटुवालले सिलाई कटाई व्यवसायी शारीरिक सुन्दरतासँग जोडिएको विषय भएको उल्लेख गर्दै त्यो सुन्दरतालाई सिपसँग जोड् सक्नु राम्रो खुबी भएको बताए । 

 

त्यस्तै आयोजक एवं संघका अध्यक्ष सुन्दाशले पछिल्लो समय विभिन्न निकायले जोकोहीलाई सिलाई सम्बन्धि ‘सामान्य’ तालिम दिँदा मान्छेहरू आफै कपडा सिलाउन सक्ने भएपछि व्यावसायिक सिलाई व्यवसायीहरू धरापमा परेको बताए ।  ‘सबै जना सामान्य कपडा सिलाउन सक्ने भइसके । सबैको घर-घरमा मेसिन छन् । अब हामीले डिजाइन-डिजाइनका कपडा सिलाउन र बनाउन सकेनौँ भने हाम्रो व्यवसाय नै धरापमा पर्ने छ ।’

 

सिलाई व्यवसायी महिलाहरूलाई प्रोत्साहन र दक्ष बनाउन तालिम सुरु गरिएको प्रस्ट्याउँदै तालिमबाट भरपुर फाइदा लिन उनले जोड् दिए ।