रामेछापका सहकारी अभियन्ता दाहाल भन्छन् –जिल्लाका सहकारीमा ८० करोड पैसा थुप्रियो, ऋण लिन कोही चहादैनन् (भिडिओ)

| असार ३, २०८१ आइतबार

A A A
A A A

२ असार, रामेछाप । रामेछाप बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल (जेएन) ले रामेछापमा विधि र प्रक्रियामा चल्ने सहकारी ज्यादै कम रहेको बताएका छन् । सहकारी के हो भनेर केही बुझ्दै नबुझेका मान्छेहरू सहकारी खोल्ने, सञ्चालक समितिमा बस्ने र उद्देश्य विपरीत काम गर्न लालहित हुँदा सहकारीहरू बदनाम हुन पुगेको उनको तर्क छ । साथै आर्थिक मन्दिको कारण लगानी गरेर उठ्ने ढुक्क नहुँदा जिल्लामा ठुलो मात्रमा पैसा थुप्रिएर बसेको उनको भनाई छ । 

 

रामेछाप टाइम्ससंगको कुराकानीमा संघका जिल्ला अध्यक्ष दाहालले भने ‘झण्डै पाँच सय सहकारी दर्ता भएको पाइन्छ । तर,विधि र प्रक्रिया चल्ने एकदमै कम ५० वटा जति मात्रै छन्  ।’

 

जिल्लामा झण्डै पाँच सय हाराहारीमा सहकारी दर्ता भएको पाइएको बताउँदै कार्यालय र कर्मचारी राखेर सहकारीको ऐन, कानुन, विधि प्रक्रिया चल्ने भने थोरै मात्रै रहेको बताएका हुन् । सहकारीहरू बिना ट्याक्मा हिँड्दा बचतकर्ताको रकम जोखिम र सहकारीहरूको बदनाम भएको बताएका हुन् । 

 

बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) सञ्चालक समेत रहेका दाहालले सहकारीहरूलाई सही मार्गमा हिँडाउनको लागि सञ्चालक, कर्मचारी, व्यवस्थापक र बचतकर्ता सबैलाई सक्षम बनाउनु पर्ने धारणा राखे ।

 

८० करोड पैसा लगानी थुप्रिएर बसेको

 

स्थानीय सरकारले पनि सहकारीलाई नियमन गर्नु पर्नेमा जोड् दिँदै रामेछापका स्थानीय सरकारले त्यस गर्न चासो नदिएको तर्क गरे । ‘स्थानीय सरकारले खारेजै गर्न सक्ने अधिकार छ । तर, यहाँका सरकारहरूले त्यो गर्न चासो नै दिएको पाइँदैन ।’

 

त्यस्तै सहकारी अभियन्ता दाहालले रामेछापका सहकारीहरूमा पैसाको तरलता रहेको प्रस्ट पार्दै ८० करोड पैसा लगानी थुप्रिएर बसेको बताए । ‘अहिले मान्छेहरू ऋण लिनै चहादैनन् । सहकारीमा मात्रै हैन बैंकको पनि पैसा लगानी हुन सकेको छैन ।’ 

 

सहकारीहरू बचतकर्ताहरूको पैसा डुबाएर हिँड्न बचतकर्ताहरूको पनि उत्तिकै हात रहेको जिकिर गर्दै संघका अध्यक्ष दाहालले भने ‘एउटै बचतकर्ता २०/३० वटा सहकारीको सदस्य बन्ने कति पैसा जम्मा गरे भन्ने समेत थाहा हुँदैन’ उद्देश्य फरक भएका सहकारीहरूमा बचत गर्ने परिपाटी छ । उद्योगी व्यापारीले कृषि सहकारीमा बचत गर्छन् ।’