अशिकांश पूरानै कार्यक्रमलाई समेटेर मन्थली नगरको नीति तथा कार्यक्रम सार्वजनिक, के-के थप भए नयाँ ?

| असार ६, २०८१ बुधबार

A A A
A A A

५ असार, रामेछाप । अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिएर मन्थली नगरपालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको भन्दा ३ करोड भन्दा धेरै घटाएर १ अरब १ करोड ९७ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको यो नगरपालिकाले अधिकांश पूरानै कार्यक्रमहरूलाई निरन्तरता दिएको उल्लेख छ । साथै पूर्वाधार तर्फ ठुला विकास निर्माण काम समेत  आगामी बजेटले ल्याउन नसकेको पाइएको छ ।  संचार क्षेत्रलाई समेट्ने कुनै पनि कार्यक्रम नीति तथा कार्यक्रममा समेवेश भएको नपाएपछि पत्रकारहरुले आफूहरुलाई बजेटले नसमेटेको भन्दै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गरेका छन् । 

 

नगरपालिका प्रमुख लव श्रेष्ठले उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ, १४ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी र पत्रकार सञ्चारकर्मीहरूको उपस्थितिमा बुधवार आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

 

नगर प्रमुख श्रेष्ठले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १ सय १४ बूँदे नीति तथा कार्यक्रममा अगाडी सारिएको उल्लेख छ । भने, चालु आर्थिक वर्षमा यो नगरपालिकाले गरेका मुख्य उपलब्धि भन्दै ४० बुँदामा समेटेर नगरको कामको फेरिसस्ता उल्लेख गरेका छन् । 

 

चालु वर्षमा मन्थली नगरपालिकाले संघीय र प्रदेश सरकारको समन्वय र सहकार्यमा नगर भित्रका विभिन्न सडकहरू गरी कूल ८९.६९ प्रतिशत सडक कालो पत्रे भएको, ५ हजार ८ सय ५४ जनालाई सामाजिक सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको, १०६ जना दीर्घ रोगीहरूलाई उपचार खर्च बापत  मासिक ५ हजारका दरले कूल ६३ लाख ६० हजार भुक्तानी गरेको नगरले उपलब्धि भन्दै भनेर सार्वजनिक गरेको छ । 

त्यस्तै १४ वटा वडा रहेको यो नगरको चालु आ.वा मा ७ र ८ नम्बरको वडा कार्यालय सम्पन्न भएर सेवा प्रवाह भइरहेको, ३ र ११ को भवन हस्तान्तरणको चरणमा रहेको, १३ नम्बरको भवन निर्माण अन्तिम चरणमा रहेको, वडा नं ४ र ५ निर्माणको लागि टेन्डर भएर सम्झौताको चरणमा रहेको र ६, ९ र १२ नम्बरको भवन निर्माणको लागि जग्गा प्राप्तिको लागि पहल भइरहेको नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

त्यस्तै यो नगरले हाल चालु आर्थिक वर्षमा १ ऐन, ११ कार्यविधि, १ निर्देशिका, १ नीति गरी जम्मा १४ वटा ऐन कानुन निर्माण गरेको र न्यायिक समितिमा ४० वटा उजुरी दर्ता भएकोमा २७ उजुरी फर्चौट् भएको उल्लेख गरिएको छ । 

 

नगर प्रमुख श्रेष्ठले आगामी नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि एक वडा एक उत्पादन कार्यक्रम मार्फत व्यावसायिक खेतीलाई प्रवर्द्धन गरी एम्बुलेन्स सहित बजारीकरणमा पहल गर्ने, किसानलाई एस.एम् एस् बाट सूचना दिने, नियमित रूपमा संचालनमा नरहेका सहकारीहरूलाई तत्काल खारेजी प्रक्रिया लैजाने, ५–१२ उमेरका सम्पूर्ण बालबालिकालाई टिकाउने र सिकाउन वातावरण सिर्जना गरी भर्ना सुनिश्चित गरी अनिवार्य तथा निःशुल्क शिक्षा भएको वडा घोषणा हुँदै नगर घोषणा गरिने उल्लेख गरिएको छ । 

 

त्यस्तै ‘सुत्केरीसँग उपप्रमुख’ कार्यक्रम थप गर्दै ‘छोरी जन्मलाई प्रोत्साहन’लाई निरन्तरता दिएको छ । स्वास्थ्य सेवाको पहुँचमा कमी भएका व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि विद्यालय नर्स तथा अन्य स्वास्थ्यकर्मी मार्फत ‘किशोरीसँग नर्स, विद्यार्थीसँग स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकसँग घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उल्लेख छ । 

त्यस्तै बढ्दै गएको नसर्ने रोगहरूलाई लक्षित गरी ‘मेरो जिम्मेवारी, मेरो स्वास्थ्य’ कार्यक्रम, मन्थली अस्पताललाई थप व्यवस्थित गरी सञ्चालन गर्ने उल्लेख छ । 

 

त्यस्तै पूर्वाधार विकासमा ‘ठुला पूर्वाधार समृद्ध नगरको आधार’ भन्ने नारासहित नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीतिलाई निरन्तरता दिएको छ । 

 

असहाय महिलाको व्यवस्थापन र जिविको उपार्जनमा टेवा पुर्‍याउन उपप्रमुखसँग असहाय महिला कार्यक्रम गर्ने मेयर श्रेष्ठले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।