रामेछापमा ‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ सप्ताह व्यापी कार्यक्रम गरी मनाइने, विद्यालयहरू विशेष निगरानीमा

| असार ६, २०८१ बुधबार

A A A
A A A

४ असार, रामेछाप । रामेछापमा ‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ सप्ताह व्यापी कार्यक्रम गरी मनाइने भएको छ । विविध सचेतना मूलक कार्यक्रम गरी आठ वटै स्थानीय तह र जिल्ला स्तरमा चरणबद्ध कार्यक्रम गरेर दिवस मनाइने निर्णय गरिएको हो । पछिल्लो दिनहरूमा विभिन्न स्वरूपमा लागू पदार्थ सेवन गर्नेहरूको सङ्ख्या बढ्दै गएको दाबी गर्दै रोकथामलाई कडाइ गर्नु पर्ने सरोकारवालाबिच सहमति समेत भएको छ । 

 

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौला, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, रामेछाप  अस्पतालका प्रमुख, जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख, प्रदेश मातहतका सरकारी कार्यालय प्रमुख, नागरिक समाज र पत्रकारसहितको उपस्थितिमा हरेक वर्ष २६ जुनमा मनाइँदै आइएको लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विद्यालय समूहका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, जिल्लामा विभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ता र सामाजिक परिचालकहरूसँग प्रत्यक्षे अन्तरक्रिया, छलफल, अनुसन्धान, विश्लेषणसहितका कार्यक्रम गरेर मनाइने निर्णय गरिएको हो । 

 

आउँदो असार २० गतेदेखि औपचारिक रूपमा दुर्व्यसनी एवं कुलतमा परेका, लागेको आशङ्का गरेका र विद्यालय उमेर समूहका बालबालिकालाई सचेतना गराउँदै लागू औषधले पार्ने असर र प्रभावका बारेमा सचेतना र जनचेतना मूलक कार्यक्रम गर्ने निर्णय गरिएको हो । 

 

बैठकले जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालनमा रहेका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू बिस्तारै लागू औषधमा फस्दै गएको आशङ्का गर्दै ती क्षेत्रलाई सुरक्षा निकाय र समग्रको निगरानीमा राख्ने सहमति गरेको छ । 

 

छलफलमा बोल्दै जिल्ला प्रहरी प्रमुख डिएसपी प्रदीप कुमार सिंहले लागू औषधमा फस्ने बालबालिकाहरूलाई नगर भनेर दबाब र प्रभावमा पार्ने भन्दा पनि त्यसबाट पर्ने असरहरूको बारेमा उसलाई बझाउन सक्नु पर्नेमा जोड् दिए । पछिल्लो समय जिल्ला प्रहरीले तीन जनालाई लागू औषध सेवन गरेको अवस्थामा नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई  रोक्न सबै लाग्नु पर्नेमा जोड् दिए । 

 

त्यस्तै प्रमुख जिल्ला अधिकारी निरौलाले लागू औषध नियन्त्रण गर्नको लागि जिल्लाका प्रमुख राजमार्ग र प्रवेशद्वारहरूमा चेकजाँचमा कडाइ गर्ने प्रहरीलाई निर्देशन दिइन् । आफूहरूसँग इच्छ्या शक्ति र जनशक्ति रहेको जिकिर गर्दै लागू औषधलाई पूर्ण रूपमा नियन्त्रण गर्न सबै लाग्नु पर्नेमा जोड् दिइन् । 

 

निर्णयहरु हेर्नुहोस्