मन्थली नगरपालिकाले निष्क्रिय सहकारीहरू तत्काल खारेज गर्ने

| असार ७, २०८१ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

६ असार, रामेछाप । मन्थली नगरपालिकाले नगर भित्र क्रियाशील नभएका सहकारीहरूलाई खारेज गर्ने भएको छ । जिल्ला सदरमुकाम समेत रहेको यो नगरमा जिल्लाका अन्य स्थानीय तहमा भन्दा धेरै सहकारी दर्ता भएर सञ्चालनमा नरहेको अवस्थामा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेटेर सञ्चालनमा नरहेका सहकारीहरूलाई खारेजी गर्ने नीति लिएको हो ।

 

यहाँ दर्ता भएका मध्ये आधा भन्दा पनि कम मात्रै सहकारी विधिवत् रूपमा चलको पाइन्छ । 

 

आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लव श्रेष्ठले सहकारी प्रवर्द्धन र नियमनका कार्यलाई एकैसाथ प्रभावकारी रूपले सञ्चालन गर्ने र नियमित नभएका सहकारीहरूलाई तत्काल खारेजी प्रक्रियामा लैजाने घोषणा गरेका हुन् । 

 

सहकारी संस्थाहरूको विवरणलाई चुस्त राख्न, सूचना प्रविधि अनुकूल सञ्चालन गर्न आवश्यक क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने र नगरमा रहेका सहकारी संस्थालाई मूल्य मान्यतामा सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।