दोरम्बा शैलुङ् गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणमा चरम लापरबाही : ५ वर्षमा ४ पटक म्याद थप, निर्माण स्थल ‘झाडी छोप्यो’

| असार ८, २०८१ शुक्रबार

A A A
A A A

७ असार, रामेछाप । जिल्लाको दोरम्बा शैलुङ् गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणको काम अलपत्र परेको छ । अस्पताल भवन निर्माणको थालेको बर्सौँ बेते पनि गाउँपालिका र निर्माण कम्पनीले जिम्मेवार ढङ्गले काममा नगर्दा जिल्लाकै दुर्गम क्षेत्र भनेर चिनिँदै आएको दोरम्बा अस्पतालबाटै उपचार पाउने आम दोरम्बा बासीको आशा निराशामा परिणत हुन थालेको हो । 

 

१७ चैत्र २०७७ मा भ्याटसहित ११ करोड ३० लाख ११ हजार ४ सय ५० रुपैयाँ लागतमा आरोग्य सुवेदी जेभी ललितपुरले गाउँपालिकासँग अस्पताल निर्माण गर्ने गरी सम्झौता गरेको थियो । तर, सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा सम्म अस्पताल भवन निर्माणको काम भने १५/२० प्रतिशत मै सीमित हुन पुगेको छ । हाल सम्म आइपुग्दा यो अस्पताल निर्माणको सम्झौता १६ असोज २०७८, २४ असार २०८०, २०८१ जेठ र जेठ महिना अघि समेत गरी चार पटक म्याद थप गरी सकिएको पालिकाका स्थानीय समेत रहेका सूचना अधिकारी भोला पाठकले रामेछाप टाइम्सलाई बताए । ‘काम हाल सम्म २० प्रतिशतको हाराहारीमा मात्रै भएको छ । ठेकेदार पनि सम्पर्कमै छ । तर, काम भने हुन सकेको छैन ।’  

 

गाउँपालिका अस्पताल निर्माण सम्पन्न गरेर सेवा सुचारु गर्न सधैँ लागि परेको दाबी सहितको सूचना अधिकारी पाठकले भने ‘पालिकाले भुक्तानी पनि गरिरहेको छ । तर, ठेकेदार पैसा छैन भने काम गर्नै आउँदैन । पालिकाले पटक–पटक पत्राचार पनि गरेको छ ।’

 

गाउँपालिका अस्पताल निर्माणको कामले गति नलिनुमा सबै दोषी ठेकेदार कम्पनी रहेको जिकिर गर्दै सूचना अधिकारी पाठक भन्छन् ‘पालिका चाँडो भन्दा चाँडो काम होस् भन्नेमा लागेको छ । तर, ठेकेदारले काम नगर्दा निर्माण स्थान झाडीको रूपमा परिणत हुन थालेको हो ।’

जग बसालेर पिलर मात्रै ठड्याइएको यो अस्पताल निर्माणको काम सम्पन्न गर्ने मिति अन्तिम पटक यही जेठमा थपिएको म्याद अनुसार यही असार महिना भरी मात्रै छ । बाँकी रहेको म्यादमा पनि काम सम्पन्न हुने त, के ठेकेदार निर्माण स्थलमा आउने मै आशङ्का छ । 

 

दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवामा जोड्ने उद्देश्य बोकेर तत्कालीन सरकारले सबै स्थानीय तहमा एकै पटक शिलान्यास गरेर निर्माण थालेको यो अस्पताल निर्माणको कामले गति नलिए पनि निर्माण कम्पनीले भुक्तानी झन्डै आधा बुझिसकेको छ । गाउँपालिकाले पनि पेस्की भन्दै पटक–पटक करडौं भुक्तानी दिएपछि निर्माण कम्पनीले २० प्रतिशत काम गर्दै चार करोड बढी भुक्तानी फुत्काएको हो । 

रामेछाप टाइम्सलाई प्राप्त सूचना अनुसार २० वैशाख २०७८ मा १ करोड १३ लाख, २०७८ कै कात्तिक ३० मा फेरी १ करोड १३ लाख पेस्की भन्दै रकम भुक्तानी भएको हो । त्यस्तै १७ माघ २०७८ मा ९० लाख ९१ हजार (रनिङ् बिल) बाट भुक्तानी बुझेको आरोग्य सुवेदी जेभी ललितपुरले पछिल्लो पटक १६ चैत २०७९ मा ८२ लाख ११ हजार भुक्तानी बुझेको छ ।

 

सो अस्पतालसँगै निर्माण सुरु भएका जिल्लाका अन्य स्थानीय तहले निर्माण सकेर सेवा सुचारु गरेको, निर्माणको अन्तिम चरणमा पुगिसकेको अवस्थामा यो अस्पतालको काम भने अगाडि कहिले बढ्नै मै आशङ्का देखिएको हो । 

 

अस्पतालको भवन निर्माणले गति नलिएपछि सरोकारवालाहरूले जिल्ला प्रशासनमा उजुरी समेत गरेका छन् । तर, उक्त उजुरीमाथि हाल सम्म छलफल नै हुन नसकेको पाइएको छ ।

 

दोरम्बाका स्थानीय एवं जिल्ला स्तरीय नागरिक समाजका रत्न प्रसाद कँडेलले गाउँपालिकाले अस्पताल भवन निर्माणमा चासो दिएर किन सम्पन्न गर्न नसकेको भन्दै प्रश्न गरेका छन् । आफूहरूले अस्पताल निर्माणमा तदारुकता दिएर सम्पन्न गर्न आग्रह गरे पनि हाल सम्म सुनुवाइ नभएको सुनाउँदै कँडेलले भने ‘पालिकाले चासो दिएको भए त्यो कम्पनीसँग सम्झौता तोडेर किन नयाँ ठेक्का लाउन सकेन । कम्पनीलाई कालो सूचीमा किन राख्न सकेन । त्यहाँभित्र केही न केही रहस्य अवश्य छ ।’

कँडेलले दोरम्बा बासीको स्वास्थ्य सुविधामाथि खेलवाड् गर्ने अधिकार कशैलाई नरहेको जिकिर गर्दै अस्पताल निर्माणको काम तत्काल अगाडि बढाउन जोड् दिए । 

 

यता अस्पताल निर्माणको विषयलाई लिएर जिल्ला प्रशासनमा परेको उजुरी र अस्पताल निर्माण अलपत्र परेको विषयमा रामेछाप टाइम्सले प्रमुख जिल्ला अधिकारी अनिता निरौलासँग बुझ्दा पनि ‘छलफल हुन सकेको छैन । यो विषयमा थप मेरो भन्नु केही छैन’ भनिन्। 

 

केही दिन अगाडि प्रशासनमा भएको एक छलफलमा उक्त विषयमा बोल्दै प्रमुख जिल्ला अधिकारी निरौलाले ‘दोरम्बाको अध्यक्ष आफ्नो मात्रै कुरा सुनाउने हुनुहुँदो रहेछ । हामीले भनेको नसुन्ने र लागू पनि नगर्ने । उहाँसँग म सक्दिन । समन्वय र सहकार्य त्यो पालिकासँग हुन सक्दैन’ भनेकी थिइन् ।  

 

बारा घर बताउने सोही अस्पतालको पेटी ठेकेदार वसन्त चौधरीले आफूहरूलाई उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गर्दा निर्माणको जिम्मा पाएको कम्पनीले फोन उठाएन ।