रामेछाप महिला उद्यमी संघले सुरु गर्‍यो ‘नेतृत्व क्षमता’ विकास तालिम

| असार ९, २०८१ शनिबार

A A A
A A A

८ असार, रामेछाप । संघमा आबद्ध भएका महिला, दिदी बिहीनीहरुलाई क्षमतावान् र सक्षम बनाउन रामेछाप महिला उद्यमी संघले तीन दिने नेतृत्व क्षमता विकास तालिम सुरु गरेको छ । महिलाहरू अहिले पनि विभिन्न नेतृत्व तहमा बसेर जिम्मेवारी पूरा गर्ने अवसरबाट बञ्चित भइरहेको परिस्थितिलाई मध्यनजर गरेर तालिम शुभारम्भ गरिएको हो । 

 

शनिवार मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदी, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे सहितको उपस्थितिमा तालिम सुरु गरिएको हो । 

 

रामेछाप उद्योग वाणिज्य संघको सभा हलमा सोमबार सम्म चल्ने तालिममा आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष, पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष, पत्रकार एवं सञ्चारकर्मी युवराज श्रेष्ठ र मन्थली नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख गोविन्द कट्टेलले सहभागी महिलाहरूलाई नेतृत्व क्षमता विकास सम्बन्धित तालिम दिने छन् । 

विभिन्न क्षेत्रमा सक्रिय महिलाहरू एक जुट भएर गठित संघमा आबद्ध महिलाहरूले आफूहरू पनि सक्षम, सबल र नेतृत्व वनह गर्न सक्ने बन्नको लागि क्षमता विकास आवश्यक रहेको ठहर गर्दै मन्थली नगरपालिकासँग समन्वय गरेर तालिम लिएका थालेका हुन् । 

 

तालिम उद्घाटन गर्दै उपप्रमुख बस्नेतले महिलाहरू पनि विभिन्न क्षेत्रको नेतृत्व गर्न सक्ने जिकिर गर्दै सक्षम र सबल बन्न आफ्नो क्षमता विकास अपरिहार्य रहेको बताइन् । महिलाहरूले पनि हरेक काम गर्न सक्ने विश्वास व्यक्त गर्दै क्षमताको विकास भए आर्थिक समृद्धि र आत्मनिर्भर भएर परिवार, समाज र समग्र राष्ट्रकै उन्नति हुने धारणा राखिन् । 

 

अवसर पाए महिलाहरूले सबै तहको जिम्मेवारी पूरा गर्न सक्ने उनले  विश्वास व्यक्त गरिन् । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार