रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ६ लाखको बजेट : सबै भन्दा धेरै हिमगंगालाई, शतप्रतिशत बहुमतले पारित

| असार १०, २०८१ आइतबार

A A A
A A A

०९ असार, रामेछाप । रामेछाप नगरपालिका आगामी आर्थिक वर्षको लागि ७३ करोड भन्दा बढीको बजेट ल्याएको छ । जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको यो नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको हो । यो बजेट आइतबारकै नगर सभाको शतप्रतिशत बहुमतले पारित एवं स्वीकृत समेत भइसकेको छ । 

 

आइतबार नगरपालिका प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू र पत्रकार, संचारकर्मीसहितको उपस्थितिमा उक्त बजेट र आगामी नीति तथा कार्यक्रम सार्वजनिक एवं घोषणा गरिएको हो । 

 

जसमा संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान १४ करोड १४ लाख, सशर्त अनुदान तर्फ चालु २७ करोड ९७ लाख २० हजार, सशर्त अनुदान पुँजीगत १ करोड ८० लाख विशेष अनुदान पुँजीगत १ करोड ५० लाख, समपूरक अनुदान पुँजीगत १ करोड ५० लाख  विनियोजन गरिएको उल्लेख छ । 

 

यस्तै राजश्व बाँडफाँड ८ करोड १३ लाख २० हजार ३३३ रुपैयाँ गरी ५५ करोड ४ लाख ४० हजार ३३३ रुपैयाँ अनुमान गरिएको छ । 

प्रदेश तर्फबाट प्राप्त हुने समानिकरण अनुदान १ करोड ४९ लाख ४८ हजार, सशर्त अनुदान चालु÷पुँजीगत १ करोड ७५ लाख १५ हजार, विशेष अनुदान पुँजीगत ८० लाख, समपूरक अनुदान पुँजीगत ३ करोड, बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर ७ करोड ८५ लाख १४ हजार १५० गरी १४ करोड ९० लाख १४ हजार १५० रुपैयाँ विनियोजन गरिएको पत्रकार सम्मेलनमा नगरका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्कीले जानकारी गराए । 

 

नगरको आन्तरिक स्रोतबाट जम्मा १ करोड १२ लाख १४ हजार र नगर अल्या २ करोड गरी जम्मा ३ करोड १२ लाख १४ हजार आय हुने अनुमान गरिएको प्रवक्ता कार्कीले बताएका हुन् । 

 

९ वटा वडा रहेको यो नगरले वडा नं ४ हिमगंगामा सबै भन्दा धेरै ४४ लाख ९५ हजार ९६९ र ३ साँघुटारमा सबै भन्दा कम ३९ लाख ४२ हजार ७ सय ८९ रुपैयाँ बजेट बाँडफाँड गरेको छ ।