रामेछाप नगरपालिका–७ सुकाजोरका वडा अध्यक्ष कार्कीले आफ्नो ‘सेवा सुविधाबाट’ किसानलाई निःशुल्क मल वितरण गरे

| असार १३, २०८१ बुधबार

A A A
A A A

१२ असार, रामेछाप । रामेछाप नगरपालिकाका वडा अध्यक्ष एवं नगरका प्रवक्ता समीर कार्कीले आफूले पाउँदै आएको जनप्रतिनिधिको सेवा सुविधा एवं (तलब भत्ता) बाट किसानलाई निःशुल्क मल वितरण गरेका छन् ।

 

दुई कार्यकाल निर्वाचन जितेर जनताको सेवामा समर्पित वडा नं ७ सुकाजोरका वडा अध्यक्ष कार्कीले उत्पादनसँग जोडिएका आफ्ना वडाका किसानलाई आफ्नै सेवा सुविधाबाट प्राप्त पैसाले मल खरिद गरी निःशुल्क बाँडेपछि स्थानीय हर्षित बनेका छन् । 

 

मुठ्ठी रोपेर मुरी फलाउने असारको सुरुवात मै निःशुल्क मल पाएपछि सुकाजोरका किसान हौसिएका छन् । विगतका वर्ष देखिनै मकै तथा धान खेती गर्ने किसानहरूलाई निःशुल्क रासायनिक मल वितरण गर्दै आएको यो वडाले अपुग रकम अभियान नै संचालन गरेर ६८ हजार रकम सङ्कलन गरेको थियो । 

वडा अध्यक्ष कार्कीका आफू आजीवन सदस्य समेत रहेको रामेछाप–काठमाडौँ सृजनशील समाजले अभियान संचालन गरेर ६८ हजार र वडा आफैले पनि विभिन्न दाताबाट रकम सङ्कलन गरेर ७१ हजार सङ्कलन गरेपछि कूल एक लाख ३९ हजार रुपैयाँ बराबरको मल किसानलाई वितरण गरिएको हो । 

 

नौं सय घर धुरीका ७ सय २० बोरा बढी मल आवश्यकता अनुसार निःशुल्क पाएपछि बेलैमा मल हाल्न पाउने भन्दै वडावासी ले वडा अध्यक्ष कार्कीले जनताको सेवा गर्ने बाच हर्पल पूरा गर्ने गरेको बताए । 

 

‘हामीले सहयोगबाट उठेको १ लाख ३९ हजार रकम र नगरपालिकाले ढुवानी बापत दिने १ लाख बराबरको रकम बाहेक अपुग सबै मैले प्राप्त गर्दै आएको सेवा, सुविधाबाट खर्च गरेको हुँ । कतिपय वडा सदस्य र कर्मचारीले समेत सहयोग गर्नु भएको छ’ नगरका प्रवक्ता समेत रहेका वडा अध्यक्ष कार्कीले भने । 

 

केही साता अघि मात्रै वडामा मकै बालीमा फौजी किरा नियन्त्रण गर्न निःशुल्क विषादी वितरण गरेको थियो । 

 

त्यस्तै निःशुल्क स्वास्थ्य बिमा, ‘एक घर, एक हिलटेक’ वितरण,घर–घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जस्ता नागरिकहरूका आवश्यकताको अनुसार सेवा पाएपछि जनप्रतिनिधि भनेको समीर कार्की जस्तो हुनु पर्ने भन्दै अन्य वडाका स्थानीयहरूले समेत कार्कीको कामको चर्चा गर्न थालेका छन् ।