सबै भन्दा धेरै राजश्व संकलन गर्ने सुकाजोरका वडा अध्यक्ष कार्कीलाई रामेछाप नगरपालिकाले नगद सहित सम्मान गर्‍यो

| असार १७, २०८१ आइतबार

A A A
A A A

१६ असार, रामेछाप । रामेछाप नगरपालिका–७ सुकाजोरका वडा अध्यक्ष समीर कार्की नगदसहित सम्मानित भएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ मा नगर भित्रका ९ वटा मध्य सबै भन्दा धेरै राजश्व संकलन गरेर नगरबाट सम्मानित भएका हुन् । 

 

लगातार दोस्रो पटक वडा अध्यक्ष बनेका उनले आफ्नो सेवा सुविधाबाट समेत स्थानीयहरूलाई मल खरिद गरेर वितरण गर्ने, जनताको आवश्यकता अनुसारका सामाजिक सुरक्षा भत्ता घर-घर पुगेर वितरण गर्दै आएको लगायतका जन अपेक्षित काम गरेर जनताको मनमा बस्दै आएका वडा कार्की सम्मानित भएको भन्दै वडा बासीले समेत खुसी व्यक्त गरे । 

 

गत असार ९ गते सम्पन्न नगरको १५ औँ नगर सभाको अवसरमा नगरपालिका प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बाला कुमारी कार्की (थापा) र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले अन्य वडा भन्दा राजश्व सङ्कलनको काममा उत्कृष्ट वडा साबित भएको भन्दै संयुक्त रूपमा नगरका प्रवक्ता समेत रहेका वडा अध्यक्ष कार्कीलाई दोसल्ला ओढाएर, नगद ५ हजार सहित प्रमाणपत्रले सम्मानित गरेका हुन् । 

नगरपालिकाका राजस्व शाखाका (अधिकृत सातौँ) हरि भगत श्रेष्ठका अनुसार वडा नं ७ ले साउन देखि जेठ मसान्त सम्म सबै भन्दा धेरै ८ लाख ७ हजार ७६१ रुपैयाँ राजश्व संकलन गरेका हुन् ।  

 

त्यस्तै वडा नं १ ले २ लाख ३९ हजार ९३० रुपैयाँ, वडा नं २ ले ४ लाख १७ हजार ३८६ रुपैयाँ १० पैसा, वडा नं ३ ले ५ लाख ७३ हजार ५७९ रुपैयाँ राजश्व संकलन गरेको अधिकृत श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

१० महिनामा वडा नं ४ हिमगंगाले ३ लाख ५७ हजार ७७२ रुपैयाँ, वडा नं ५ ले २ लाख ८२ हजार ७०२ रुपैयाँ, वडा नं ६ ले ४ लाख ७२ हजार १७८ रुपैयाँ, वडा नं ८ ले ६ लाख ७६ हजार ३६६ रुपैयाँ र वडा नं ९ ले ३ लाख ३० हजार २ सय ४९ राजश्व संकलन गरेको हो ।  

 

यता नगरले असारको १५ बित्दा झण्डै ७० लाख बढी राजश्व संकलन गर्दा साउनदेखि जेठको मसान्त सम्म २२ लाख ३६ हजार २६१ रुपैयाँ ७४ पैसा राजश्व उठाएको अधिकृत श्रेष्ठले प्रस्ट पारे । 

 

९ वटा वडा रहेको रामेछाप नगरपालिकाले जेठको मसान्त सम्म कूल ६३ लाख ९४ हजार १ सय ८४ रुपैयाँ ८४ पैसा राजश्व उठाएको उनले बराए । 

 

एक करोड भन्दा बढी आन्तरिक आय स्रोत अपेक्षा गरेको नगरले चालु आवमा लक्ष्यको नजिक पुग्ने उनले विश्वास व्यक्त गरे । नगर सभामा 

 

नगरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरू पनि सम्मानित 

त्यस्तै सोही अवसरमा वडा अध्यक्ष कार्कीसँगै नगरपालिकाका लेखा अधिकृत मदन सुवेदी, राजश्व शाखाका हरि भगत श्रेष्ठ, स्वास्थ्य शाखा ध्रुव कुमार मगर, वडा नं ९ की वडा सचिव पवित्र केसी, सिनियर अनिमि बाला शोभा सुनुवार, वडा नं ५ की नायव पशु स्वास्थ्य प्राविधिक (चौथो) यमुना श्रेष्ठसहितका कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगरपालिकाले सम्मान गरेको छ । 

 

त्यस्तै कार्यालय सहयोग दिनेश कुमार श्रेष्ठ र लक्ष्मी कुमारी कसाइलाई पनि सम्मान गरिएको नगरपालिकाका सूचना अधिकारी होमबहादुर थापाले बताए ।

तस्बिर स्रोत नगरको फेसबुक पेज । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार