करोड लगानीको मन्थली–खिम्ती–मिल्ती सडक निर्माण पक्षको चरम लापरबाहीले काम नसकिँदै ठाउँ-ठाउँमा भत्कियो (भिडिओसहित)

| असार २०, २०८१ बुधबार

A A A
A A A

१९ असार, रामेछाप । असारे विकासको चपेटो, ठेकेदार र सम्बन्धित निकायको गैर जिम्मेवारी पनले मन्थली–खिम्ती सडक निर्माणमा चरम लापरबाही गरेको पुष्टि भएको छ । कालोपत्रे गरेको १५ दिन नपुग्दै भ्वकभ्वकि उप्किएर बिच–बिचमा भ्वाङ पर्न थालेपछि सडक मर्मतमा चरम लापरबाही गरेको पुष्टि भएको हो । 

 

दैनिक हजारौँ सवारी साधन ओहोर–दोहोर गर्ने जिल्लाकै मुटुको रूपमा परिचित देवकोटा चोकैको सडक निर्माणको काम नसकिँदै कालोपत्रे उप्किने, भ्वाङ पर्ने, चर्किने, दब्ने जस्तो हुन थालेपछि स्थानीय नै छक्क परेका छन् । 

 

देवकोटा चोक सम्म सडक फराकिलो पार्ने र कालोपत्रे थप गर्ने जिम्मेवारी पाएको गोलोञ्जोर कन्स्ट्रक्सन सिन्धुलीले गरेको काम भुक्तानी नहुँदै भत्किएपछि चर्को आलोचना सुरु भएको हो । कालोपत्रे सकेर सवारी चल्न थालेको १५ दिन नबित्दै बुधवार राति नै सडकको कालोपत्रे भ्वक-भ्वकी उप्किएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । 

बजारको बिचैमा सडकको कालोपत्रे उप्किएपछि आक्रोशित स्थानीयहरूले भने ‘राज्यको सम्पत्तिमा चरम लापरबाही भएको छ । यस्ता काम गर्ने ठेकेदार, इन्जिनियर र जिम्मेवार निकायलाई तत्काल कारबाही गर्नुपर्छ ।’

 

बजार क्षेत्रकै सडक निर्माणमा लापरबाही भएकोमा आक्रोशित हुँदै स्थानीयहरूले थपे ‘हामीले देख्ने ठाउँमा त, यस्तो गुणस्तर हीन काम भएको छ । अन्त झन् कस्तो हिला ?’ 

 

यो सरोकारवालाको रोहबरमा कामको प्राविधिक परीक्षण गरेर आशङ्का लागेको सबै भत्काएर पुनः काम पहिलेकै लागतमा गर्नु पर्छ । त्यो चरम लापरबाही हो । राज्यको सम्पत्तिको दुरुपयोग हो’, आक्रोशित हुँदै स्थानीय यमबहादुर थापाले भने ।

 

मन्थली–मिल्ती सडक निर्माणमा चरम लापरबाही गरेको जिकिर गर्दै उनले गुणस्तर हीन काम गर्नेका विरुद्धमा आवाज उठाउनको लागि सिङ्गो मन्थली लाग्ने उनले चेतावनी दिए । गोलन्जोर कन्ट्रक्शनले निर्माण गरेको यो सडकको काम अन्तिम–अन्तिम चरणमा पुगेको छ । यो कन्ट्रक्शनले गरेका धेरै जसो योजनामा समस्या देखिएको स्थानीयहरूले दाबी गरे । 

अहिले खुर्कोट देखि मन्थली हुँदै खिम्ती–मिल्ती सडकको मर्मतको काम धमाधम भइरहेको छ । निर्माणको चरणमै स्थानीय सरकार र सम्बन्धित निकायको आग्रहलाई समेत अटेर गरेको आरोप खेप्दै आएको कम्पनीले १५ दिन पनि नटिक्ने काम गरेपछि फिल्ड अवलोकनमा आइपुगेका सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिनियर सन्देश राज ढुङ्गेलले भने बिग्रिएको काम ठेकेदारसँग तत्कालै समन्वय गरेर मर्मत गरिने बताए । 

 

सडक निर्माणमा चरम लापरबाही गरिएको भन्दै स्थानीयहरूले खबर पुर्‍याएपछि फिल्डमा टोलीसहित आइपुगेका इन्जिनियर ढुङ्गेलले भने ‘मर्मत गर्दा कमजोरी भएकै जस्तो देखियो । हामी सम्बन्धित निकायसँग भनेर तत्काल मर्मत गर्छौँ ।’

 

स्टिमेट अनुसार एक करोड ४ लाख लागतको यो, योजना २०८० कात्तिक महिनामा गलोन्जोर कन्स्ट्रक्सनले ६४ लाख रुपैयाँमा गत ३२ जेठ २०८१ मा सक्ने गरी सम्झौता गरेको थियो । 

 

सम्झौता मितिमा काम नसकेर ३२ असार २०८१ सम्मको लागि म्याद थपेको यो सडकको भुक्तानीको चरणमा रहेका भेला सडक भत्किन थालेपछि आयोजनाले गरेको काम प्रति प्रश्न उठेको हो ।