रामेछापको भोटनागीमा इलाम र दार्जिलिङको भन्दा उच्च गुणस्तरको अर्ग्यानिक चिया उत्पादन (भिडिओसहित)

| असार २४, २०८१ आइतबार

A A A
A A A

२३ असार, रामेछाप । जिल्लाको मन्थली नगरपालिका भोटनागीमा चिया खेती फस्टाएको छ । चार सय रोपनी सुख्खा पाखोमा केही वर्ष अघि सुरु गरिएको चिया खेतीबाट मनग्य आम्दानी लिन सकिने वातावरण बनेको  नेचुरल अर्ग्यानिक टी–प्रोडक्ट प्रा.लि.का म्यानेजर शम्भुबहादुर खड्काले बताए । नेचुरल अर्ग्यानिक कम्पनीले मात्रै ८२ रोपनीमा चिया गरेको छ । 

 

चियाको खेतीको लागि देशकै प्रसिद्ध इलाम र भारतको दार्जिलिङ भन्दा निकै स्वास्थ्यकर एवं गुणस्तरीय चिया रहेको इलामको चिया बगानमा समेत काम गरेर अनुभव बटुलेका खड्काको भनाई छ । ‘यो चिया इलाम र दार्जिलिङको भन्दा निकै राम्रो छ । यो हरियो सुन हो ।’

 

झापा घर भएका खड्का भोटनागिको चिया निकै राम्रो भएकै कारण ५ वर्ष यता यही बसेर चिया खेतीमा रमाइरहेका छन् । अहिले धमाधम टिप्ने सिजन भएको सुनाउँदै बजारमा प्रति केजी ३ हजार भन्दा माथि मूल्यमा बिक्री हुँदै आएको म्यानेजरले सुनाए । 

 

हाल सम्म साँढे २ करोड माथिको लगानीमा गरिएको यो चिया खेती विगतमा टिपेर काठमाडौँ लगायतका जिल्लामा पठाउँदै आइएकोमा यो वर्षदेखि त्यही प्रशोधन केन्द्र राखेर चिया उत्पादन गरिने तयारी छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको माथिल्लो भेट १४ फुलासीमा पर्ने भोटनागीको प्रचारप्रसार कम हुँदा मात्रै समस्या भएको नत्र चिया उत्पादनको निकै राम्रो सम्भावना रहेको म्यानेजर खड्काको विश्वास छ । 

त्यहाँका स्थानीयहरूका अनुसार भोटनागीमा पहिलो पटक एक सहकारी स्थापना गरी ३५० रोपनी जमिनमा २०६९ सालबाट चिया लगाउन थालिएको थियो । अहिले धमाधम उत्पादन दिन थालेको यी बिरुवाबाट एक वर्षमा २८ पटक सम्म टिप्न मिल्ने म्यानेजर खड्का बताउँछन् । 

 

 भोटनागीको चिया, चियाको राजा अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । अर्थात् ग्रिन टिको नामले परिचित यो चिया अर्ग्यानिक चिया हो । मन्थली नगरपालिकाको सहयोगमा प्रशोधन केन्द्र राखेर यही वर्षबाट अर्ग्यानिक कालो चिया, पहेँलो चिया र सेतो चिया बनाउने तयारी भइरहेको व्यवस्थापक समेत रहेका म्यानेजर खड्काले सुनाए । 

 

शारीरिक रूपमा स्वास्थ्य वर्द्धक मानिएको र ग्यास्ट्रिक पनि नगराउने यो चिया खेतीको प्रवर्द्धन गर्नको लागि मन्थली नगरपालिका र दोरम्बा शैलुङ् गाउँपालिकाले समेत सकरात्कम भूमिका खेल्दै आएको खड्काले प्रस्ट पारे । 

 

हालसम्म कुनै रोग समेत नदेखिएको यहाँको चिया दर्जलिङ् र इलामको भन्दा निकै गुणस्तरीय रहेको खड्काले जिकिर गरे । 

 

भोटनागीलाई चिया पकेट क्षेत्रका रूपमा विकास गर्ने तिर स्थानीय सरकारको पनि ध्यान गएको प्रस्ट पार्दै नगरपालिकाका प्रमुख लव श्रेष्ठले भने ‘गत वर्ष पनि वडाले बिरुवा लगायतमा सहयोग गरेको छ । हामीले पनि केही तालिम दियौँ । सामाग्री सहयोग गरेका छौँ । नगरले गर्न सक्ने कुरालाई गर्नु पर्छ भनेर सकारात्मक छौँ । साथै प्रदेशमा पनि हामीले पहल गरेका छौँ’, पर्यटनलाई प्रमुख केन्द्र मानेर चिया खेतीलाई प्रवर्द्धन गरिरहेको प्रस्ट्याउँदै नगर प्रमुख श्रेष्ठले थपे ‘होमस्टे सञ्चालन गरेर समुदायको आय आर्जन पनि गर्न सक्ने । र, पर्यटनको आगमन पनि बढाउन सक्ने गरी चिया बगानलाई हामीले पहल गरेका छौँ’ ।

 

मन्थली नगरपालिकाले भोटनागीलाई चिया पकेट क्षेत्रसँगै पर्यटनको हब बनाउनको लागि काम गरिरहेको बताउँदै आएको छ । 

 

भिडियो हेर्नुहोस्