गोकुलगंगा गाउँपालिकाले खिम्ती–बेताली हुँदै चुचुरे सम्म बर्खा अवधिभर ‘हेभी’ गाडी संचालनमा रोक लगायो

| असार २४, २०८१ आइतबार

फर्पु सडक हुँदै गन्तव्य तर्फ जाँदै गरेका सवारी, तस्विर फाइल ।
A A A
A A A

२३ असार, रामेछाप । वर्षाको  कारण सडक हिलामय हुने र  मालवाहक गाडी चल्दा सडक थप जीर्ण बन्ने (बिग्रने) भएपछि गोकुलगंगा गाउँपालिकाले बर्खाको अवधिभर ठुला गाडी संचालनमा रोक लगाएको छ । पालिकाले झन्डै तीन महिना सम्म ठुला गाडी संचालनमा रोक लगाउने बताएको छ । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट खिम्ती हुँदै गोकुलगंगा गाउँपालिका जोड्ने फर्पु–नामाडी–बेताली–रस्नालु–ठोसे र १ नम्बर चुचुरे सम्मको पक्की तथा कच्ची सडकमा वर्षा याममा ‘हेभी’ सवारी साधन चल्दा सडक बिग्रिने भन्दै सवारी संचालनमा रोक लगाएको हो । कच्ची सडक खण्डमा खाल्डा-खुल्डी, हिलाम्मे हुने र पक्की सडक समेत भत्किन थालेपछि गाउँपालिकाले सडकको क्षमता भन्दा बढी लोडका भएका गाडी सञ्चालन गर्न रोक लगाएको हो । 

 

आइतबार प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जारी गरेको पत्रमा भनिएको छ ‘हेबी सवारी साधन सञ्चालनका कारण कालोपत्रे सडक खण्ड समेत भत्किन थालेको छ’, यसबाट अन्य सवारी साधन र यात्रुहरूले समस्या भोग्नु परेको प्रस्ट पार्दै भनिएको ‘असार ७ गतेको कार्यपालिकाको बैठकले उक्त सडकमा बर्सादको समय समाप्त नभएसम्म बढीमा ३ महिना ६ चक्के भन्दा बढीका सवारी साधन संचालनमा रोक लगाउने निर्णय भएको’ छ । 

 

जिल्लाको उमाकुण्ड गाउँपालिका हुँदै सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला समेतलाई सडक मार्ग भएर जोड्ने यो पालिकाले ‘हेभी’ संचालनमा रोक लगाएसँगै लिखु खोलामा निर्माणाधीन रहेका जलविद्युत कम्पनीका निर्माण सामाग्री ओसार्ने गाडी सहितका गाडी संचालनमा अवरोध हुने देखिएको छ । 

 

यद्दयपी दोलखाको जिरी-शिवाय चुचुरे हुँदै गाडी चल्दै आएकाले धेरै समस्या एवं प्रभाव भने पर्ने छैन । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार