‘रेष्ट’ले सुरु गर्‍यो मन्थलीमा चार स्थानीय तहका मावि शिक्षकलाई दुई दिने मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण

| असार २६, २०८१ मंगलबार

A A A
A A A

२५ असार, रामेछाप । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले रामेछापमा कार्यक्रम लागू भएका माध्यमिक विद्यालयका शिक्षकहरूलाई दुई दिने अभिमुखीकरण मन्थलीमा सुरु गरेको छ ।  २०६३ साल देखि क्रियाशील गैरसरकारी संस्था रेष्टले रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका सहितका चार स्थानीय तहका विद्यालयमा विशेष गरी ‘छात्रा’लाई छात्रवृत्ति र शैक्षिक सामाग्री लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । 

 

मङ्गलवारदेखि मन्थलीमा विद्यालयका प्रधानाध्यापक (प्रअ), शिक्षक, शिक्षिकाहरूको उपस्थितिमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गर्न लागेको रेष्टका जिल्ला संयोजक उमेश नेपालले जानकारी दिए । 

 

डा.अरुणा उप्रेती र प्रशिक्षक सुधा श्रेष्ठले पठनपाठनको दौरान विद्यालय हाता भित्र हुने सामान्य प्रकृतिका स्वास्थ्य सम्बन्धि घटनाहरूको बारेमा शिक्षकहरू सचेत हुनु पर्नेमा जोड् दिएर अभिमुखीकरण गर्न लागिएको प्रशिक्षक श्रेष्ठले बताइन् । ‘धेरै ठू–ठुला समस्याको बारेमा नभए पनि विद्यार्थीलाई केही समस्या हुन लागेको छ भनेर पूर्व जानकारी लिन सक्ने, बुझ्ने र समाधानको लागि पहल गर्न सक्ने बन्नु हाम्रो उद्देश्य हो’, प्रशिक्षक श्रेष्ठले भनिन् ।

 

मानसिक रोग जटिल प्रकारको समस्या हो । विद्यालयमा बालबालिकाहरूलाई पनि मानसिक तनाव हुँदा पठनपाठनमा आइपर्ने समस्या हल गर्न यो तालिमले मद्दत पुर्‍याउने आयोजक आएचइ‍एसटी (RHEST)  पैरवी समूह रामेछापले जनाएको छ । 

 

विशेष गरी बाबु आमा नभएका, कसैको संरक्षणमा रहेका, आर्थिक अवस्था कमजोर भएर पठनपाठन गर्न नसक्ने स्थिति भएका, अनाथ छात्राहरूलाई कक्षा १० सम्मका शैक्षिक सामाग्री र १२ कक्षा पढ्नेलाई सम्पूर्ण पढाई खर्च रेष्टले प्रदान गर्दै आएको छ । 

 

१४ वटा वडा रहेको मन्थली नगरपालिकाका ३० वटा, ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकाका २५ वटा, ९ वटा वडा रहेको खाँडादेवी गाउँपालिकाका ३ र ७ वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकाका २ वटा विद्यालयहरूमा रेष्टको कार्यक्रमबाट सञ्चालनमा छ । जसबाट एक हजार ९ सय २२ जना छात्रा विद्यार्थी लाभान्वित छन् । 

 

पछिल्ला केही वर्ष यता सूचना प्रविधिले माडेको फड्को र मौसममा आएको परिवर्तन लगायतका विभिन्न घटनाले विद्यालयमा विद्यार्थीहरू विभिन्न मानसिक समस्या एवं तनावमा हुने गरेको विश्लेषण हुँदै आएको छ । 

 

सोही परिवेशमा रेष्टले उक्त अभिमुखीकरण आयोजना गर्नु निकै लाभदायक हुने मन्थली नगरपालिका १२ गेलु सिक्राल स्थित मावि सिक्रालका (प्रअ) प्रवन खड्काले बताए । 

त्यस्तै ३० वर्ष देखि शिक्षण पेसा गर्दै आएकी मन्थली माविकी शिक्षिका कमला थापाले पठनपाठनको समयमा विद्यार्थीको मानसिक अवस्था कस्तो छ भन्ने कुरा बुझ्नु अति नै आवश्यक हुने धारणा राखिन् । 

 

इलाम घर भई गोकुलगंगा गाउँपालिकाको जन जागृति माविमा लामो समय देखि पठनपाठन गर्दै आएका शिक्षक मिलन राईले पनि विद्यार्थीको मनोभावना बुझ्न सकेर पढाउन सके उपलब्धि मूलक हुनेमा विश्वास व्यक्त गरे । यो तालिम एवं अभिमुखीकरणबाट त्यो कुरा सिकाए निकै लाभदायक हुने उनको विश्वास थियो । 

 

त्यस्तै ज्यामिरे खानी मावि लिखु तामाकोशी गाउँपालिकाकी शिक्षिका शशिकला श्रेष्ठले अध्ययन अध्यापनमा शिक्षक र विद्यार्थी दुवैको मानसिक स्वास्थ्य राम्रो हुनु पर्ने सङ्केत गर्दै अहिले सम्म त्यो हुन सके नसकेको आफू अन्योलमा रहेको बताइन् । 

 

दुई दिने तालिम निकै उपलब्धि मूलक हुनेमा आशा र अपेक्षा राख्दै सहभागी शिक्षकहरूले विद्यालय तहमा खाने खाजा, खानाले मानसिक स्वास्थ्यसँग जोडिने विषय भएको भन्दै पोषण युक्त खाना र मानसिक स्वास्थ्य बारे पूर्ण सचेतिकरण गरिदिनु पर्ने माग राखे । 

 

रेष्टकी फाउन्ड समेत रहेकी डा.उप्रेतीले भने आफूहरूले शिक्षकहरूको सबै मागलाई सम्बोधन गर्न नसके पनि मानसिक स्वास्थ्य अवस्थाको पहिचान गर्ने सम्मको सामान्य जानकारी भने गराउने आश्वास पारिन् । उनले सबै माग सम्बोधन गर्न समय नपुग्ने भनिन् । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार