रामेछापको कुकुरकाटे भञ्ज्याङ्मा छिमेकी बिच ‘लफडा’, असारे भेलमा थापाले सार्वजनिक जग्गामा डोजर चलाएपछि तीन घर जोखिममा (भिडिओसहित)

| असार २७, २०८१ बुधबार

A A A
A A A

२५ रामेछाप । जिल्लाको मन्थली नगरपालिका–४ कुकुरकाटे भञ्ज्याङ्का लालबहादुर थापाले सामुदायिक बनको जग्गा मिचेर आफ्नो घरको आँगन विस्तार गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । सार्वजनिक जग्गा व्यक्तिगत भोगचलानको लागि बिगारेर आफ्नो घर समेत जोखिममा पारेको भन्दै सोही ठाउँका गजेन्द्र आले आफू अन्यायमा परेको भन्दै न्याय पाउनु पर्ने मागसहित स्थानीय सरकार र प्रहरी प्रशासन धाउँदै आएका छन् । 

 

थापाले आफ्नो निजी घरको आगमन बढाउन सार्वजनिक सडक मिच्नुका साथै सामुदायिक वन समेत फडानी गरेको आरोप लगाए । असारे झरीमा स्काभेटर लगाएर सार्वजनिक जग्गामा स्काभेटर लगाएर खनेका कारण सालु–देउराली–गोठपानी सडक खण्ड अन्तर्गत कुकुरकाटे भञ्ज्याङ्गस्थित करिब एक सय मिटर सडक समेत जोखिम पूर्ण बनेको आलेको दाबी छ । स्काभेटर लगाउँदा सडक बिग्रिनुका साथै भासिएकाले जुनसुकै बेला पनि ठुलो सवारी दुर्घटना हुन सक्ने उनको जिकिर छ । ‘त्यहाँ यात्रुवाहक बस सहित सबै गाडी चल्छ जुनसुकै बेला पनि त्यहाँ दुर्घटना हुन सक्छ ।’

 

आलेका अनुसार लालबहादुरले आफ्नो घरको आगमन विस्तार गर्न सामुदायिक वनमा आफू खुसी मेसिन चलाउँदा रुखहरू समेत ढलेका छन् । डोजर लगाउँदा ढलेको सामुदायिक वनको रुख केही माटोमा पुरिएको र केही लालबहादुर थापाले नै दाउराको रूपमा प्रयोग गरेको आलेले बताए । आलेका अनुसार लालबहादुरले यही असार २० गते आफ्नो घरको आगमन विस्तार गर्न सामुदायिक वनमा डोजर लगाएका थिए । 

 

‘सामुदायिक बन र सडक मिचेको मात्र हैन । डोजर लगाएर माटो थुपारेका कारण मेरो घर समेत जोखिममा परेको छ’, उनले भने । थापाले मेसिन लगाएर सडक बिगारेर बर्खेभल आफ्नो घरमुनि भिर बनाएर लगाइदिएको आरोप लगाउँदै आलेले थपे ‘मलाई यहाँबाट उठीबास लगाउँछु भनी पटक–पटक धम्की दिँदै आएको छ । उसले मसँग रिसइबी साँचेर नियतबस मेरो घर अगाडी माटो थुपारेर घर नै जोखिममा पारिदिएको हो ।’

उसले सार्वजनिक सम्पत्तिको रक्षा गर्न र आफूलाई न्याय दिलाई पाउँ भनी मन्थली नगरपालिका न्यायिक समितिमा उजुरी समेत दिएका बताएका छन् । 

 

‘लालबहादुर थापाले आफ्नो घर अगाडी सामुदायिक बन क्षेत्र फडानी गरी सडक बिगारेकाले उक्त सडकमा कुनै पनि बेला सवारी साधन दुर्घटना हुनसक्ने सम्भावना रहेको र मेरो घर पनि क्षति हुने अवस्थामा पुर्‍याएको हुनाले निजलाई आवश्यक कारबाही गरी सार्वजनिक सम्पत्तिको संरक्षण तथा मलाई न्याय दिलाई दिनुहुन हार्दिक अनुरोध गर्दछु’ उजुरीमा भनिएको छ ।

 

यस विषयमा मन्थली नगरपालिका र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले आफू मिडियामा आउन बाध्य भएको उनको भनाइ छ । लालबहादुरले राति समेत घरमा आएर ट्रचर दिने, घर परिवारलाई गालिगलोज गर्ने, मुख छाड्ने गर्दा आफू सहन नसक्ने स्थितिमा पुगेर मिडियामा आएको बताए । 

न्यायिक समितिमा आलेले दर्ता गराएको मुद्दाको विषयमा बुझ्न खोज्दा मन्थली नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक ईश्वरी बस्नेतसंग सम्पर्क हुन सकेन । 

 

त्यस्तै आरोप लागेका लालबहादुर थापासँग सोही विषयमा रामेछाप टाइम्सले बुझ्दा आफ्नो कुनै गल्ती नभएको थापाले दाबी गरे । आफूले राम्रो काम गर्दागर्दै पनि पानी परेको कारण सडक बिग्रिएको उनको दाबी छ । 

 

आफूले सार्वजनिक जग्गामा डोजर लगाएको नभई सडकको खाल्डा–खुल्डी पर्न आलेसँगै समन्वय गरेरै मेसिन लगाएको बताए । थापाले उल्टै आलेले खाल्डा–खुल्डी भयो पुरी दिनु भनेपछि आफूले उसै गरेको बताए । ‘पानी परेर सडक बिग्रिएकाले गाडी फस्ला, केही तलमाथि होला भनेर म काममा समेत नगई घरमै बसेको छु’ उनले भने । 

 

 

उक्त सडकमा दैनिक अरनिको यातायात सञ्चालन हुँदै आएको छ । लालबहादुरले भने ‘गजेन्द्र मेरो बहिनी ज्वाइँ हो, उसलाई मैले केही गरेको छैन, केही दिन अघि राति १० बजेको समयमा हामी खाना खाइरहेको बेल उ आफै मेरै घरमा आएर झगडा गर्न खोजेको थियो ।’

 

 

असार १ गतेदेखि भदौको १ गते सम्म सडक खन्न मेसिन नलगाउन निर्देशन भइसकेको अवस्थामा मेसिन लगाएर दैनिक सवारी चल्ने सडकलाई दुर्घटनाको जोखिममा पारेका थापाले आलेले आफूमाथि केही दिन अगाडि घरभित्रै राति आएर हातपात समेत गर्न खोजेको तर, आफूले कुनै गल्ती नगरेको आरोप लगाए । 

 

डोजर लगाएर सामुदायिक बनको रुख ढाल्नु भएछ नि भन्ने रामेछाप टाइम्सको जिज्ञासामा उनले भने ‘पानीले माटो गलेको भएर डोजरले छुँदा रुख ढलेको हो’ भने । छीमेहीहरुसँग सल्लाह गरेर नै आफूले डोजर लगाएको उनको भनाइ छ । आफूले गल्ती नगरेको बताउँदै, आफ्नो गल्ती ठहरेमा कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।