चालु आर्थिक वर्षमा मन्थली नगरपालिकाले लक्ष्य भन्दा ३ प्रतिशत बढी राजश्व उठायो, ८३.७५ प्रतिशत कूल खर्च

| असार २९, २०८१ शुक्रबार

A A A
A A A

२८ असार, रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । यो नगरपालिकाले चालु आर्थिक वर्षको (असार २५ गते) सम्म ४ करोड ४५ लाख २ हजार ८३८ रुपैयाँ राजश्व संकलन गरेको जानकारी गराएको हो । 

 

शुक्रवार नगरको सभा हलमा गत साउन देखि असार २५ गते सम्मको प्रगति समीक्षा विवरण सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले लक्ष्य भन्दा ३.४९ प्रतिशत बढी राजश्व संकलन भएको जानकारी गराएका हुन् । 

 

यो अवधिभर नगरले आफ्नो आन्तरिक स्रोतबाट कूल ४ करोड ३० लाख मात्रै राजश्व संकलन हुने लक्ष्य लिएकोमा प्रशासकीय अधिकृत चापागाईँले सार्वजनिक गरेको संक्षिप्त विवरणमा भने ४ करोड ४५ लाख २ हजार ८३८ रुपैयाँ राजश्व संकलन भइसकेको उल्लेख गरिएको हो ।

आर्थिक वर्ष २०८०-०८१ मा मन्थली नगरपालिकाले १ अरब ४ करोड ८६ लाख ९८ हजार बजेट ल्याएकोमा चालु खर्च तर्फ ८९.३४ प्रतिशत तथा पुँजीगत खर्च तर्फ ७४.२ प्रतिशत गरी कूल ८३.७५ प्रतिशत खर्च गरेको जनाएको हो । 

 

त्यस्तै आर्थिक विकास क्षेत्रसङ सम्बन्धित ६ करोड २ लाख ८९ हजार १११ रुपैयाँ बजेट विनियोजन गरेकोमा ७८.९८ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । 

 

कृषि विकास तर्फ ६७.१४ प्रतिशत र पशु विकास तर्फ ८५.०४ प्रतिशत प्रगति गरेको प्रशासकीय अधिकृत चापागाईँको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 

शैक्षिक सुधारलाई प्राथमिकता दिएर कार्यक्रम गर्न जोड् दिएको यो नगरले सामाजिक विकास तर्फ ५५ करोड ५८ लाख ४० हजार ५३१ रुपैयाँ बजेट विनियोजन गरेकोमा ८९.९७ प्रतिशत वित्तीय प्रगति र जसमा शिक्षा तर्फ ९१.१८ प्रतिशत र स्वास्थ्य तर्फ ९३.०६ प्रतिशत र लैङ्गिक समानता र समावेशीकरणमा ६९.५ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको नगरपालिकाले जनाएको छ । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार